दमक, २५ पुष । नेपाली कांग्रेस झापाका पुराना नेता तथा पूर्व केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले नेपाली कांग्रेस यथास्थितिमै अगाडि बढे जनताले पार्टीलाई बढार्ने चेतावनी दिनुभएको छ।
रेडियो किङ एफ एम १०४.१ मेघाहर्जको कार्यक्रम ‘सत्य संवाद’मा बोल्दै नेता शिवाकोटीले कांग्रेसको जनमत निरन्तर खुम्चँदै गएको र अहिलेको नेतृत्वले पार्टीलाई गम्भीर संकटतर्फ धकेलेको आरोप लगाउनुभयो।
उहाँका अनुसार अहिलेको अवस्थाबाट निकास निकाल्ने एकमात्र उपाय विशेष महाधिवेशन हो।
शिवाकोटीले वर्तमान कांग्रेस नेतृत्व विदेशी दबाबमा चलेको आरोप लगाउँदै त्यसले नेपालमा विदेशी हस्तक्षेप बढ्ने खतरा रहेको बताउनुभयो।
उहाँले बंगलादेशमा देखिएको राजनीतिक उथलपुथलको उदाहरण दिँदै नेपाल पनि त्यस्तै अस्थिरतामा फस्न सक्ने जोखिम औँल्याउनुभयो।
“यो अवस्था आउन नदिन अहिले नै विशेष महाधिवेशन गरेर पार्टीलाई सही दिशामा फर्काउनुपर्छ।” उहाको भनाई छ ।
नेता सिवाकोटीले कांग्रेसभित्रको अवसर वितरण प्रणालीप्रति पनि कडा असन्तुष्टि व्यक्त गर्नुभयो।
त्याग र संघर्ष गरेका कार्यकर्तालाई पाखा लगाएर, ढोगी, आयातीत र निकटताका आधारमा अवसर दिने प्रवृत्ति अहिलेको पुस्ताले स्वीकार नगर्ने उहाँले संवादका क्रममा उल्लेख गर्नुभयो ।
उहाँले वर्तमान नेतृत्वकै कारण आम कार्यकर्तामा चरम निराशा छाएको उल्लेख गर्नुभयो।
कार्यक्रममा बोल्दै शिवाकोटीले कांग्रेसले युवा शक्तिको महत्व बुझ्न छोडेको आरोप समेत लगाउनुभयो।
“परिवर्तन सधैं युवाले गर्ने हो, तर कांग्रेस नेतृत्वले युवालाई केवल नारामा सीमित बनाएको छ,” उहाँले भन्नुभयो।
पार्टीभित्र महाधिवेशन र विशेष महाधिवेशनको बहस उत्कर्षमा पुगेको बेला आएको शिवाकोटीको यो अभिव्यक्तिले कांग्रेसको आन्तरिक राजनीति अझ तरंगित बनाउने देखिएको छ।









