दमक,१ माघ । माघ १ गतेको दिन मनाईने माघे संक्रान्ती नेपालीले मनाउने पर्वहरूमध्येको एक मुख्य पर्व हो । यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि । माघे सङ्क्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको छ । आजको दिन पवित्र खोला वा नदीमा गएर नुहाए पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि रहेको छ । माघ एक गतेका दिन झापाको कन्काई अर्थात् माई नदीमा पुजा र स्नान गर्ने भक्तजनहरुको लामो ताँती लाग्ने गर्छ । मकर नुहाउन अरु नदीलाई भन्दा बढी कन्काई नदीलाइ नै चाहीँ किन बढी रुचाईन्छ ? यहाँ स्नान गर्न आउने भक्तजनहरुले के विश्वास राख्छन् ?
माग १ गते अर्थात् माघे संक्रान्तीको दिन मकर नुहाउन र पुजाआजा गर्न भक्तजनहरु टाढाटाढाबाट धाउने गर्छन् । यस नदीमा मनोकामना, ईच्छा, आकाङ्सा पूरा हुने पनि जनविश्वास रहेको छ । सोही कारणले गर्दा पनि यस दिन पुजा गर्ने र स्नान गर्न आउने भक्तजनहरुको लामो लर्को लाग्ने गर्छ ।
आफ्ना बाउबाजेका पाला देखी नै मकर नुहाउने चलन चली आएको र आफूले पनि त्यही धार्मिक विश्वास राख्ने भएकाले यस दिनलाई विशेष दिनको रुपमा लिनेगरेको बताउनुहुन्छ सुनसरीबाट मकर संक्रान्तीमा पुजा गर्न आउनुभएका राम प्रसाद चौधरी । यस दिन मकर स्नान लिए मन र शरिर दुबै सफा र पवित्र हुने उहाँको विश्वास छ ।
यस दिन मकर स्नान लिएर पुजाआजा गरे वर्षभरी नै सुख शान्ति छाउने र शरिरमा रोग नलाग्ने घाउ खटिरा नलाग्ने विश्वास वर्षौँ देखी राख्दै गरेको र सोही कारण आज पनि मकर नुहाउन माई नदी आएको बताउनुहुन्छ छेव्ली देवी चौधरी ।
धार्मिक दृष्टिले मात्र नभई, वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्त्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ । पानीलाई नै देवी मान्ने भएकाले नै यस दिन यस पानीमा नुहाए पनि शरिर पवित्र हुने बताउनुहुन्छ पण्डित नारायण ओली ।
मागे संक्रान्तीसँग संम्बन्धित विभिन्न धार्मिक विश्वासहरु छन् । जुन धार्मिक विश्वासहरुलाई वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि परम्परा र संस्कारलाई जीवन्त तुल्याउछ ।









