दमक, १९ माघ / जसको घरमा सृजना कर्मको वातावरण थियो । पिता कमल जंगली साहित्यकारका रुपमा चिनिनु भएको थियो । आमा जयकला पनि फाटफुट लेख्ने गर्नुहुन्थ्यो । दाजु जीवन आचार्य त कविता, लेख, चित्रकला क्षेत्रका अब्बल सर्जक कहलिनु भएको थियो । यस हिसाबले पनि टंक आचार्यमा केही न केही लेख्ने बानी पर्यो । दाजु जीवनसँग काठमाडौं बस्दा साहित्यिकार र पत्रकारहरुसँगको संगतमा उहाँ सोही क्षेत्रका गतिविधिमा सामेल बन्नु भयो । उहाँलाई नै सृजना र जीवनको आदर्श पात्र मान्दै उहाँको स्मृतिमा ज्यादै भावुक बन्नु हुन्छ ।
वि.सं. २०२० भदौ २४ पाँचथरको यासोकमा जन्मिएर झापाको दमकमा बसोबास गर्दै आफ्नो कर्म अघि बढाउँदै आउनु भएका उहाँ देख्दा गम्भिर प्रकृतिको देखिएपनि ख्याल ठट्टा गर्दै हुरुक्कै पारेर हँसाउन सिपालु हुनुहुन्छ । छोरी रचनामार्फत श्रीमती इन्दिराका साथमा विगत ५ वर्षदेखि अमेरिका बसोबास गर्दै आउनु भएको छ । अमेरिकामा पनि साहित्यिक गतिविधिमा सक्रिय बन्नु भएका उहाँको पहिलो कविता ‘मातृभूमि’ समीक्षा पत्रिकामा २०४१ सालमा प्रकाशित भएको थियो । गीत, गजलकासाथै प्रभावकारी कविता लेख्ने उहाँको २०६१ सालमा कविता संग्रह ‘फेरि अर्को एउटा कुरुक्षेत्र’ प्रकाशित छ । विभिन्न पत्रपत्रिकामा तथास्तु र अवशेष स्तम्भमा लेखिएका लेखहरुको संग्रह प्रकाशनको अन्तिम तयारीमा छ ।
उहाँ मुक्त अभियानका संयोजकका साथै, जीवन स्मृति प्रतिष्ठान, दमक साहित्य प्रतिष्ठान, पूर्वाञ्चल गजल मञ्च, नेपाल रेडक्रस सोसाइटीसहितमा आवद्ध बन्नु भएको थियो । अमेरिकाबाट दमक आएको बेला उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा गरिएको कुराकानीको भिडिओ :









