अन्तर्राष्ट्रिय भाषाको भ्रम र यथार्थ

नेपाली भाषाको भविष्य : प्रयोग, प्रभुत्व र बौद्धिक सङ्कट

के विश्वमा कहलिएका अङ्ग्रजी, फ्रेन्च वा स्पेनी जस्ता भाषा ती देशका सबै नागरिकले बोल्छन् ?

शक्तिराज नेपाल  उपप्राध्यापक, त्रि.वि.

विषयप्रवेश

नेपाली भाषाको लिखित इतिहास करिब एक हजार वर्ष पुरानो भइसकेको छ । संस्कृत भाषासँग ऐतिहासिक र संरचनात्मक सम्बन्ध बोकेको नेपाली भाषा दक्षिण एसियाली भाषिक परम्पराको महङ्खवपूर्ण अङ्गका रूपमा विकसित हुँदै आएको छ । समयक्रममा यस भाषाले आफ्नै साहित्यिक परम्परा, अभिव्यक्तिको शक्ति र सामाजिक भूमिका निर्माण गरेको छ । यस अर्थमा नेपाली भाषा कुनै हालसालै बनेको राष्ट्रिय पहिचान मात्र होइन, यो त दीर्घ सांस्कृतिक तथा बौद्धिक यात्रा र अध्ययनको परिणाम हो ।

 

लामो इतिहास हुँदाहुँदै पनि नेपाली भाषा आज विरोधाभासपूर्ण अवस्थामा देखिन्छ । एकातिर यस भाषामा सिर्जित साहित्य, इतिहास र सामाजिक अध्ययनसम्बन्धी सामग्री अन्य भाषामा अनुवाद भई विदेशका विश्वविद्यालयहरूमा अध्यापन हुन्छन् । अर्कोतिर नेपाली भाषा आफैँ उच्च शिक्षा र अन्तर्राष्ट्रिय बौद्धिक संवादको माध्यम बन्न सकेको छैन । नेपालीमा सिर्जित ज्ञानलाई मान्यता दिलाउन विदेशी भाषाको सहारा लिनुपर्ने अवस्था अझै कायम छ ।

 

नेपाल बहुभाषिक देश भएकाले नेपाली भाषा सबैको मातृभाषा बन्न नसक्नु स्वाभाविक हो । तर, साझा सम्पर्क भाषा बनेको नेपालीले समावेशी र बौद्धिक नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्नु चिन्ताको विषय हो । भाषाविस्तारको ऐतिहासिक प्रक्रियाले नेपालीलाई बलियो बनाएको भए पनि यसको ज्ञान उत्पादन क्षमता संस्थागत रूपमा विकास हुन सकेको छैन ।

 

विदेशी भाषाविज्ञ लिली टर्नरलगायतका अनुसन्धानले देखाएझैँ नेपाली भाषा विश्वस्तरमा स्थापित भैसक्नुपर्ने थियो । सर एडमण्ड हिलारीले सर्वप्रथम सगरमाथामा पाइला राखेका भरमा संसारभर यसको चर्चा भयो । यसको इतिहास कायम भयो । तर, लिली टर्नरको अध्ययनले केवल सैद्धान्तिक चर्चा पाए तापनि संसारमा नेपाली भाषाको स्थान नगन्य देखियो । त्यस पक्षका कारण अनेक होलान् तर पनि कुनै भाषा विश्वस्तरमा स्थापित हुन प्रयोगकर्ताको सङ्ख्यामात्र पर्याप्त हुँदैन । त्यसका लागि उक्त भाषामा विज्ञान, प्रविधि, अनुसन्धान र अन्तरविषयक ज्ञानको निरन्तर उत्पादन आवश्यक पर्छ । तिनै क्षेत्रमा प्रयोग नभएका कारण नेपाली भाषा पछाडि परेको देखिन्छ ।

 

यस पृष्ठभूमिमा नेपाली भाषाको भविष्य प्रयोगको विस्तारभन्दा पनि यसको बौद्धिक उपयोग, नीतिगत दृष्टिकोण र शिक्षासँगको सम्बन्धमा निर्भर छ । प्रस्तुत लेखमा नेपाली भाषाको प्रयोग, प्रभुत्व र देखिँदै गएको बौद्धिक सङ्कटलाई आलोचनात्मक दृष्टिले विश्लेषण गर्दै यसको सम्भावित दिशाबारे बहस अघि सार्ने प्रयास गरिएको छ ।

मुख्य सन्दर्भ र सैद्धान्तिक आधार

कुनै भाषालाई अन्तर्राष्ट्रिय भाषा मान्न प्रयोगकर्ताको सङ्ख्यामात्र पर्याप्त हुँदैन । आधुनिक भाषाविज्ञान, समाजशास्त्र र ज्ञान निर्माणका राजनीतिले देखाए झैँ भाषा विश्वस्तरमा स्थापित हुन त्यसले गर्ने ज्ञान उत्पादन, सत्ता संरचना र विश्व प्रणालीसँग प्रत्यक्ष सम्बन्ध राख्नुपर्छ । यही सैद्धान्तिक आधारमा हेर्दा नेपाली भाषा अन्तर्राष्ट्रिय भाषाको स्तरमा पुग्न नसक्नु भाषिक कमजोरीका कारण होइन, यसको संस्थागत र शक्ति सम्बन्धको सीमाका कारण हो ।

पियेर बुद्र्यूको भाषिक पुँजीसम्बन्धी अवधारणाअनुसार भाषाले आर्थिक, शैक्षिक र सांस्कृतिक लाभ प्रदान गर्न थालेपछि यो शक्तिशाली हुन्छ । अङ्ग्रेजी, फ्रेन्च वा स्पेनिजजस्ता भाषाहरू केवल धेरै बोलिने भएकाले होइनन्, ती भाषामा शिक्षा, विज्ञान, प्रविधि र कूटनीति सञ्चालन भएकाले विश्वव्यापी बनेका हुन् । यस दृष्टिले नेपाली भाषा आज पनि सांस्कृतिक सम्पर्कको भाषा त हो, तर यसले वैश्विक भाषिक पुँजी निर्माण गर्न सकेको छैन ।

मिसेल फुको (सन् १९७२) को ज्ञान सत्ताको सिद्धान्तले भाषा सधैँ तटस्थ हुँदैन भन्ने स्पष्ट गर्छ । उनका अनुसार कुन भाषामा ज्ञान उत्पादन हुन्छ, कुन भाषामा अनुसन्धान लेखिन्छ र कुन भाषामा नीति निर्माण हुन्छ भन्ने कुरा सबै सत्ता संरचनाले निर्धारण गर्छन् । नेपाली भाषा यही शक्ति संरचनाको चपेटामा परेको भाषा हो । नेपालीमा ज्ञान सिर्जना हुँदा त्यसलाई स्थानीय ठानिन्छ । तर, उही ज्ञान अङ्ग्रेजीमा अनुवाद भएपछि वैश्विक मानिन्छ । यो अवस्था भाषिक हैसियतको होइन, ज्ञानको राजनीतिक मूल्याङ्कनको समस्या र कमजोरी हो ।

भाषाविज्ञ लिली टर्नरजस्ता अनुसन्धानकर्ताहरूले नेपाली भाषाको अध्ययन गर्दै यसले क्षेत्रीय र सांस्कृतिक महङ्खव बोकेको देखाए तापनि विश्वस्तरीय शैक्षिक माध्यम बन्न नसक्नुको कारणका रूपमा यसको सीमित प्राज्ञिक वा एक्याडेमिक प्रयोग रहेको उल्लेख गरेका छन् । नेपाली भाषा विश्वविद्यालयस्तरको अनुसन्धान, विज्ञान र प्रविधिको माध्यम नबनुन्जेल यसको अन्तर्राष्ट्रिय मान्यता सम्भव हुँदैन भन्ने निष्कर्ष ती अध्ययनहरूबाट प्राप्त भएका छन् ।

यसै सन्दर्भमा इमानुएल वालरस्टाइनको विश्व प्रणाली सिद्धान्त पनि सान्दर्भिक देखिन्छ । त्यस मानयताअनुसार केन्द्रमा रहेका भाषाहरू (जस्तै अङ्ग्रेजी) ज्ञान उत्पादन गर्छन् । त्यो सँगै पेरिफेरीका भाषाहरूले त्यसलाई उपभोग गर्छन् । नेपाली भाषा आज यही परिधीय स्थितिमा अड्िकएको छ । यसमार्फत ज्ञान ग्रहण गरिए तापनि त्यो ज्ञान विश्वव्यापी रूपमा निर्यात हुँदैन ।

यसरी हेर्दा नेपाली भाषा कुनै प्राकृतिक सीमाका कारण अन्तर्राष्ट्रिय बन्न नसकेको होइन । यो भाषा र शक्ति सम्बन्धको संरचनामा अधीनस्थ अवस्थामा राखिएको भाषा हो । त्यसैले यसको भविष्य भाषिक सुधारभन्दा बढी शिक्षा नीति, ज्ञान उत्पादन र शक्ति संरचनामा यसको पुनस्र्थापनासँग गाँसिएको देखिन्छ ।

नेपाली भाषाको आयाम : शिक्षामा नेपाली कि नेपालीमा शिक्षण ?

नेपाली भाषासम्बन्धी सबैभन्दा गम्भीर प्रश्न आज पनि उस्तै छ । शिक्षामा नेपाली राख्ने कि नेपालीमै शिक्षा दिने ? यो प्रश्न साधारण देखिए तापनि यसले नेपाली भाषाको बौद्धिक भविष्य निर्धारण गर्छ । दुर्भाग्यवश, नेपालको शिक्षा प्रणालीले आजसम्म यसबारे स्पष्ट नीति लिन सकेको छैन । वर्तमान अभ्यास हेर्दा नेपाली भाषा विभिन्न विद्यालय र विश्वविद्यालयमा विषयका रूपमा प्रयुक्त त छ, तर ज्ञान उत्पादनको माध्यमका रूपमा प्रयोग छैन । कक्षा १ देखि स्नातक तहसम्म नेपाली अनिवार्य विषयका रूपमा पढाइ  हुन्छ, तर विज्ञान, गणित, सूचना प्रविधि, अर्थशास्त्र र दर्शनजस्ता विषयहरू प्रायः अङ्ग्रेजी माध्यममै पढाइन्छन् । विश्वविद्यालय तहमा त यो अवस्था झन् स्पष्ट छ । नेपाली भाषामा पढाइ हुने विषयहरू मुख्यतः साहित्य र भाषा अध्ययनमै सीमित छन् । यसले शिक्षा प्रणालीभित्र “नेपाली भाषा केवल बोल्नका लागि हो, गहिरो ज्ञान प्राप्ति र प्रदान गर्नका लागि होइन” भन्ने एउटा मौन सन्देश स्थापित गरेको छ ।

त्यस सन्देशको प्रत्यक्ष प्रभाव विद्यार्थीको सोचमा देखिन्छ । नेपाली माध्यमबाट विद्यालयको शिक्षा लिएका विद्यार्थीहरू उच्च शिक्षामा पुगेपछि अचानक भाषिक असुरक्षामा पर्छन् । उनीहरू विषयवस्तु बुझ्नभन्दा भाषा बुझ्न सङ्घर्ष गर्छन् । परिणामतः ज्ञानभन्दा भाषा प्रतिस्पर्धाको साधन बन्छ । त्यसपछि नेपाली भाषा स्वतः कमजोर भई वैकल्पिक ठहरिन्छ ।

अझ गम्भीर पक्ष के हो भने शिक्षामा नेपाली भन्ने नीति सिर्फ नारा आफैँ भ्रमपूर्ण छ । शिक्षामा नेपाली भन्नाले पाठ्यक्रममा नेपाली विषय राख्नु भन्ने बुझिन्छ । तर, नेपालीमा शिक्षण भन्नाले सम्पूर्ण शैक्षिक संरचनाहरू जस्तै; पाठ्यपुस्तक, मूल्याङ्कन, अनुसन्धान र विमर्श आदि नेपाली भाषामै सञ्चालन हुनु हो । यी दुई अवधारणा बिचको भिन्नता नबुझ्दा नेपाली भाषा शिक्षाको केन्द्र होइन, केवल सजावटी तङ्खव बनेको छ ।

तुलनात्मक उदाहरणहरू यहाँ धेरै महत्त्वपूर्ण छन् । जापान, कोरिया, चीन वा फ्रान्समा उच्च शिक्षा आफ्नै भाषामा सञ्चालन हुन्छ । ती देशका विद्यार्थीहरूले विज्ञान, प्रविधि र अनुसन्धान मातृभाषामै गर्छन् । उनीहरूको विदेशी भाषा पूरक हुन्छ, प्रतिस्थापक होइन । यही कारण ती भाषाहरू ज्ञानका भाषा बने र पछि अन्तर्राष्ट्रिय रूपले प्रभावशाली भए ।

नेपालमा भने उल्टो प्रक्रिया अपनाइएको छ । पहिले अङ्ग्रेजीलाई ज्ञानको भाषा बनाइयो, अनि नेपालीलाई भावनाको भाषा बनाएर सीमित गरियो । यसको प्रत्यक्ष असर नेपाली भाषाको बौद्धिक उत्पादनमा देखिन्छ । नेपाली भाषामा लेखिएका अनुसन्धान लेख, वैज्ञानिक अध्ययन वा दार्शनिक विमर्श अत्यन्त न्यून छन् । अझ लेखिए तापनि ती स्थानीय भन्दै अन्तर्राष्ट्रिय मान्यताबाट बाहिर राखिन्छन् । उही सामग्री अङ्ग्रेजीमा अनुवाद भएपछि भने त्यसलाई विश्वसनीय मानिन्छ । यो भाषाको कमजोरी होइन, ज्ञान मूल्याङ्कनको राजनीतिक सक्षमतामा देखिएको समस्या हो ।

यदि नेपाली भाषालाई शिक्षाको माध्यम बनाइएन भने यसको भविष्य साहित्यिक समारोह, भाषण र भावनात्मक नारामा मात्र सीमित हुनेछ । भाषा सम्मान र भावनाले होइन, नीतिगत प्रयोगले मात्र बलियो हुन्छ । त्यसैले अब प्रश्न नेपाली भाषाको संरक्षण गर्ने कि नगर्ने भन्ने होइन । नेपाली भाषामा सोच्ने, सिक्ने र सिर्जना गर्ने संरचना बनाउने कि नबनाउने ? भन्ने मुख्य प्रश्न हो ।

सङ्घीयता र नेपाली भाषा

नेपालमा २०७२ असोज ३ गतेदेखि सङ्घीयता लागु भयो । त्यस सन्दर्भदेखि भाषामा पनि सङ्घीयता लाग्यो । यो लागु भएपछि मातृभाषाको प्रयोग बढ्नु नेपाली भाषाको अवसानको सङ्केत होइन । यो त बहुभाषिक लोकतन्त्रको स्वाभाविक अभ्यास हो । भाषा विस्तारको अधिकार स्थानीय तहसम्म पुग्नु भाषिक विखण्डन होइन त्यो त सांस्कृतिक न्यायको प्रक्रिया हो । यसलाई नेपाली भाषामाथिको खतरा ठान्नु स्वयं भाषिक लोकतन्त्र नबुझेको दृष्टिकोण हो । भाषालाई संवर्धन गर्ने नीति निर्माण गर्न खुट्टा कमाएपछि देखिएको अबुझपना हो । सङ्घीयताले नेपाली भाषालाई झन् साझा सम्पर्कको माध्यमका रूपमा अपनाएको छ । यसलाई सङ्कुचन भने बनाएको छैन ।

 

वास्तविक समस्या सङ्घीय संरचनामा होइन । राज्यका भाषाको नीतिगत असफलतामा छ । सङ्घीयता लागु भइसकेपछि पनि नेपाली भाषाको भूमिका के हुने, बहुभाषिक संरचनाभित्र यसको दायरा र जिम्मेवारी के हुने भन्नेबारे स्पष्ट नीति निर्माण हुन सकेको छैन । न त केन्द्रमा नेपाली भाषालाई साझा बौद्धिक माध्यमका रूपमा स्थापित गर्ने प्रयास भयो, न त प्रदेश र स्थानीय तहसँग यसको सहकार्यको मोडल विकास गरियो ।

 

नेपाली भाषा ऐतिहासिक रूपमा साझा सम्पर्क भाषा रहँदै आएको हो । तर, साझा भाषा हुनु र बौद्धिक नेतृत्वदायी भाषा हुनु एउटै कुरा होइन । सङ्घीय संरचनामा नेपाली भाषाले मातृभाषाहरूलाई विस्थापित होइन, समेट्ने भूमिका खेल्नुपथ्र्यो । तर, समावेशी भाषा नीति नहुँदा नेपाली भाषा न त सबैको साझा बौद्धिक भाषा बन्न सक्यो, न त अन्तर्राष्ट्रिय स्तरतर्फ उन्मुख हुन सक्यो ।

 

अझ गम्भीर कुरा के छ भने सङ्घीयतापछिको भाषिक बहस भावनात्मक ध्रुवीकरणमा फसेको छ । एकातिर मातृभाषाको प्रयोगलाई राष्ट्रिय एकताको खतरा ठान्ने दृष्टिकोण छ । अर्कोतिर नेपाली भाषालाई प्रभुत्वको प्रतीक भनेर पूर्ण रूपमा अस्वीकार गर्ने अतिवादी धारणा छ । यी दुवै दृष्टिकोणले बहुभाषिक सहअस्तित्वको सम्भावनालाई कमजोर बनाएका छन् । यस सन्दर्भमा यदि राज्यले स्पष्ट रूपमा “नेपाली भाषालाई बहुभाषिक व्यवस्थाको साझा बौद्धिक केन्द्र कसरी बनाउने ?” भन्ने प्रश्नको उत्तर दिएको भए नेपाली भाषा र नेपालका मातृभाषासम्बन्धी बहस आज यसरी दिशाहीन हुने थिएन । साझा बौद्धिक केन्द्र भन्नाले नेपाली भाषामार्फत् राष्ट्रिय ज्ञान उत्पादन, नीति संवाद र अन्तरप्रदेशीय शैक्षिक सम्पर्कलाई बुझाइन्छ । तर, त्यसो हुनु भनेको मातृभाषामाथि प्रभुत्व जमाउनु होइन । समावेशी भाषा नीतिबिना नेपाली भाषा सबैको भाषा बन्न सक्दैन । अनि सबैको भाषा नबनेसम्म कुनै भाषा अन्तर्राष्ट्रिय बन्न सक्दैन । तसर्थ अन्तर्राष्ट्रिय मान्यता आन्तरिक वैधताबाट सुरु हुन्छ । त्यसकारण सङ्घीयता नेपाली भाषाका लागि कमजोरी होइन । यससम्बन्धी राज्यको अस्पष्ट दृष्टि नै नेपाली भाषाको सबैभन्दा ठूलो चुनौती हो ।

अन्तर्राष्ट्रिय भाषाको भ्रम र यथार्थ : ज्ञान, सम्पर्क र शक्ति

के विश्वमा कहलिएका अङ्ग्रजी, फ्रेन्च वा स्पेनी जस्ता भाषा ती देशका सबै नागरिकले बोल्छन् ? सबै नागरिकले बोल्दैनन् । उदाहरणका लागि भारत, दक्षिण अफ्रिका वा क्यानडामा अङ्ग्र्रेजी सबैको मातृभाषा होइन । अफ्रिकाका धेरै फ्रेन्चभाषी देशमा पनि जनसङ्ख्याको ठूलो हिस्सा फ्रेन्चमा दक्ष छैन । तैपनि ती भाषा अन्तर्राष्ट्रिय मानिन्छन् । यसले के स्पष्ट गर्छ भने भाषा अन्तर्राष्ट्रिय बन्ने आधार सङ्ख्या होइन, भूमिका हो ।

 

भाषा तब अन्तर्राष्ट्रिय बन्छ, जब त्यसले ज्ञान उत्पादन, प्रविधि विकास, आर्थिक लेनदेन र कूटनीतिक संवादका माध्यमको भूमिका खेल्छ । अङ्ग्रजी भाषा विश्वव्यापी हुनुको कारण यसमा विज्ञान, प्रविधि, चिकित्सा, व्यापार र अनुसन्धानको मुख्य सामग्री उत्पादन हुनु हो । यही कारण अङ्ग्रेजी सम्पर्कको भाषा मात्र होइन, ज्ञानको केन्द्र बनेको छ । यसै मापदण्डमा हेर्दा नेपाली भाषा सङ्ख्यात्मक रूपमा कमजोर छैन । आज नेपाली भाषा भारत, भुटान, म्यानमार, खाडी मुलुक, युरोप, अमेरिका र अष्ट्रेलियासम्म फैलिएको छ । नेपाली बोल्ने धेरै व्यक्ति त्यहाँका नागरिकसमेत भइसकेका छन् । यति हुँदाहुँदै पनि नेपाली भाषा अन्तर्राष्ट्रिय बौद्धिक मञ्चमा स्थापित हुन सकेको छैन । यसको कारण भाषा कमजोर भएर होइन, भाषासँग जोडिएको ज्ञानका संरचना कमजोर भएर हो ।

 

नेपाली भाषामा विज्ञान, प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध वा समसामयिक विश्व मुद्दामाथि मौलिक अनुसन्धान अत्यन्त सीमित छ । अझ सिर्जना भए पनि त्यसलाई अन्तर्राष्ट्रिय मान्यता दिन अङ्ग्र्रेजीमा अनुवाद गर्नुपर्ने बाध्यता छ । यसले नेपाली भाषा सम्पर्कको भाषा त हो, तर अझै ज्ञानको भाषा बन्न सकेको छैन भन्ने स्पष्ट सन्देश दिन्छ ।

 

विश्वव्यापी सम्पर्कको युगमा भाषा केवल बोलिने मात्र होइन, सञ्जालमा चल्ने हुनुपर्छ । एक्याडेमिक जर्नल, डिजिटल प्लेटफर्म, अनुसन्धान डेटाबेस र प्रविधि प्रणालीभित्र यसको प्रयोग हुनुपर्छ । नेपाली भाषा यी सञ्जालमा सीमित रूपमा मात्र प्रवेश गर्न सकेको छ । यही संरचनात्मक सीमाले नेपाली भाषालाई अन्तर्राष्ट्रिय बन्नबाट रोकिरहेको छ ।

 

यसर्थ नेपाली भाषालाई अन्तर्राष्ट्रिय बनाउन भावनात्मक दाबी होइन ज्ञान, सम्पर्क र प्रविधिको संरचना निर्माण गर्नु आवश्यक छ । जब भाषा विश्वमा फैलिन्छ, तब त्यसमा सोचिन्छ, लेखिन्छ र भविष्य निर्माण गरिन्छ । ज्ञान निर्माणका सन्दर्भमा नेपालीमा नै सोचिनुपर्छ, नेपालीमा नै ज्ञान निर्माण गरिनुपर्छ र मात्रै नेपालीले अन्तर्राष्ट्रिय भाषाको दायरा बढाउँछ ।

नेपाली भाषामा भावनात्मक राष्ट्रवादको फन्दा

नेपाली भाषाको सबैभन्दा ठूलो सङ्कट भनेको बाह्य दबाब होइन, आन्तरिक आत्मविरोधी चेतना हो । हामी नेपाली भाषालाई माया गर्छौँ, त्यसको सम्मानका लागि भाषण गर्छौँ । तर, त्यसलाई ज्ञानको भाषा बनाउन आवश्यक लगानी गर्न हिच्किचाउँछौँ । अनि हामी अङ्गे्रजी पढ्न बाध्य छौँ, किनकि अङ्ग्र्रेजीमा अवसर देखाइएको छ । नेपालीमा सोच्न डराउँछौँ, किनकि त्यसलाई नेपालमा कमजोर ठानिन्छ । अनि दोष विश्वव्यापीकरणलाई दिन्छौँ । तर, समस्या हाम्रो नीतिगत निर्णय र सोचमा छ । यसैलाई भावनात्मक राष्ट्रवादको फन्दा मानिन्छ । त्यस्ता अवस्थामा भाषा प्रतीक त बन्छ, तर साधन बन्दैन । हामी नेपाली भाषालाई गौरवको वस्तु बनाउँछौँ, तर बौद्धिक श्रमको माध्यम बनाउँदैनौँ । यही कारण नेपाली भाषा उत्सव र भेटघाटमा प्रयोग हुन्छ, तर प्रयोगशाला, पुस्तकालय र अनुसन्धान केन्द्रमा अनुपस्थित हुन्छ ।

 

विश्वका सबै बलिया भाषाहरू पहिले ज्ञानको भाषा बने, त्यसपछि मात्र पहिचानको भाषा बने । नेपाली भाषाको यात्रामा भने क्रम उल्टिएको छ । यहाँ पहिले गौरव र पहिचान त्यसपछि ज्ञानको कुरो आउँछ । जबसम्म यो क्रम सच्याइँदैन, नेपाली भाषा भावनामा बाँचिरहनेछ अनि भविष्य निर्माणमा पछाडि पर्नेछ । यसैले नेपाली भाषाको मूल समस्या संरक्षणको अभाव होइन । समस्या दृष्टिकोणको कमजोरीमा छ । तसर्थ भाषा बचाउने होइन, भाषामा सोच्ने र ज्ञान निर्माण गर्ने साहसको वेला आएको छ । यदि त्यसो गरियो भने नेपाली भाषा ज्ञान, प्रविधि, चिकित्सा, विज्ञान र अनुसन्धानमा प्रयोग हुन थाल्छ । त्यसपछि बिस्तारै यसको अन्तर्राष्ट्रियकरण हुनथाल्छ ।

निष्कर्ष

नेपाली भाषाको भविष्य सङ्कटमा होइन, सङ्क्रमणमा छ । यसलाई साहित्यको भाषामात्र बनाइराख्ने कि विज्ञान, प्रविधि र दर्शनको भाषा पनि बनाउने हो भन्ने निर्णय हाम्रो र नीतिनिर्माताहरूको हो । जब भाषामा सोच्न छाडिन्छ तब भाषा मर्न थाल्दछ र सङ्कुचनको मार खेप्दछ । यद्यपि नेपाली भाषा न त समाप्त हुँदैछ, न त स्वतः अन्तर्राष्ट्रिय बन्दैछ । यसको भविष्य नीति, शिक्षा र बौद्धिक इच्छाशक्तिमा निर्भर छ ।

यसको अन्तर्राष्ट्रिय विकासका लागि उच्च शिक्षामा नेपाली माध्यमलाई वैकल्पिक होइन, वैध बनाउने गर्नुपर्छ । नेपालीमा मौलिक अनुसन्धानलाई प्रोत्साहन गर्नुपर्छ । विज्ञान र प्रविधिका मूल पाठहरूको योजनाबद्ध अनुवाद गरी प्रयोगमा ल्याउनुपर्छ । बहुभाषिक नीतिभित्र नेपाली भाषालाई साझा बौद्धिक केन्द्र बनाउने र विश्व नेपाली समुदायसँग ज्ञानको नेटवर्क निर्माण गरिनुपर्छ । अन्ततः प्रश्न भाषा बाँच्ने कि मर्ने होइन । नेपाली भाषा सोच्ने भाषा बन्ने कि केवल बोलिने भाषामा मात्र सीमित रहने ? भन्ने विषय यसको मूल प्रश्न हो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालमैत्री कार्यक्रम र कार्यन्वयनको पाटो

अभिभावकले बालबालिकालाई अनुशाशित बनाउने र संस्कारयुक्त बनाउन दमनात्मक शैली प्रयोग गरिरहेका हुन्छौ, यस्तो सैलिले बालबालिका अनुशाशित हुनुको सट्टा अराजक बन्दै गहिरहेका हुन्छन ।

‘के साँच्चिकै बजारमा ग्यास अभाव भएको हो ?’

“हिजोसम्म एउटा सिलिन्डर मात्र प्रयोग गर्नेले अहिले तीनवटासम्म एकैपटक लैजान थालेपछि बजारमा खपत बढेको हो। तर ग्यास आपूर्ति भने रोकिएको छैन,”

धनेश्वर धाम : धार्मिक आस्था र पर्यटकीय आकर्षणको नयाँ केन्द्र

धार्मिक आस्था, आकर्षक संरचना र निरन्तर भइरहेका पूर्वाधार विकासका कारण धनेश्वर धाम अहिले दमक क्षेत्रको मात्र होइन, समग्र पूर्वी नेपालकै एक महत्वपूर्ण धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विस्तार हुँदै गएको देखिन्छ।