काठमाडौं, २४ असार। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ८ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गरेको छ।
बैठकले सुरज शाक्यलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा नियुक्त गर्ने निर्णय गरेको छ।
त्यस्तै, कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिइएको छ।
मन्त्रिपरिषद्ले ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३’, ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ र ‘कारागार नियमावली, २०८३’ पनि स्वीकृत गरेको छ।
यसैगरी, मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना पनि मन्त्रिपरिषद्ले पारित गरेको छ।
मन्त्रिपरिषद्का ८ निर्णयः
१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्य नियुक्त।
२. गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति।
३. विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३ स्वीकृत।
४. शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३ स्वीकृत।
५. कारागार नियमावली, २०८३ स्वीकृत।
६. मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत।
७. भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत।
८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त।
सरकारले गरेका यी निर्णयले प्रशासनिक नेतृत्व परिवर्तनदेखि शिक्षा, स्वास्थ्य, मानव अधिकार र सुशासनका क्षेत्रमा नीतिगत प्रभाव पार्ने अपेक्षा गरिएको छ।









