धनुषा,९ साउन । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पु¥याउने गरी कम्तीमा १० वटा पालिकालाई नमूना कार्यक्रमका रूपमा छनोट गरी कार्यान्वयन गरिने बताउनु भएको छ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवसँगको शिष्टाचार भेट तथा संघ–प्रदेश समन्वय सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कम्तीमा १० वटा पालिका छनोट गरि माग गर्नु भयो । सो पालिकामा कृषिको नमुना कार्यक्रमका लागू गर्ने मन्त्री चौधरीको योजना छ ।
उहाँले नीति निर्माणभन्दा पनि कार्यान्वयन पक्षलाई अब विशेष प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले अनुसन्धानबाट प्राप्त नतिजा किसानको खेतसम्म पु¥याउन, कृषि उत्पादन बढाउन तथा किसानलाई आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी गराउन कम्तीमा १० पालिकामा एकीकृत कार्यक्रम सञ्चालन गरिने जानकारी दिइनु भयो । ती पालिकामा उत्पादन वृद्धि, प्राविधिक सेवा, तालिम, परामर्श तथा प्रविधि हस्तान्तरणलाई विशेष जोड दिइने उहाँको भनाइ छ ।
मन्त्री चौधरीले प्राङ्गारिक (अर्गानिक) खेतीलाई प्राथमिकता दिँदै माटोको उर्वराशक्ति संरक्षण, सुरक्षित खाद्य उत्पादन र दिगो कृषि प्रणाली विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो । उहाँले कृषि, वन तथा पर्यावरण क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, स्रोत–साधनको उचित परिचालन तथा साझा योजना मार्फत अघि बढ्नुपर्नेमा जोड दिइनु भयो। साथै प्रदेश सरकारबाट प्राप्त सुझावलाई संघीय सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो।









