दमक २१/ कार्तिक | जिल्ला भूमि समस्या समाधान समिति झापाको बैठकले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त नामावली सार्वजनिक गर्दै आगामी कात्तिक मसान्तभित्र पुर्जा वितरण गर्ने तयारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार पहिलो चरणमा बुद्धशान्ति गाउँपालिकाका १ हजार ३६४, अर्जुनधारा नगरपालिकाका ९६४ र मेचीनगर नगरपालिकाका ११ परिवारको नामावली प्राप्त भएको छ।
झापामा जग्गा प्राप्तिका लागि भूमिहीन दलिततर्फ २ हजार ८९६, भूमिहीन सुकुम्बासी १५ हजार ७८३ र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८५१ गरी कुल ६० हजार ५७० परिवारले आवेदन दिएका छन्। यसबाहेक अघिल्ला आयोगका अधुरा आवेदन ५ हजार २९६ छन्।
समितिले अन्य स्थानीय तहबाट नामावली प्राप्त भएपछि छानबिन गरी दोस्रो चरणको सूची सार्वजनिक गर्ने जनाएको छ।
लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिन प्रशासनले थप जनशक्ति परिचालन गरेको छ। केही दिनअघि विभागीय मन्त्री प्रतिभा रावलले समेत झापा भ्रमण गरी भूमिहीन सुकुम्बासीसँग संवाद गर्नुभएको थियो। उहाँले तत्काल पुर्जा वितरण प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो।








