बिर्तामोड,१० साउन। झापाको बिर्तामोड–६ स्थित बुटाबारी युनाइटेड क्लबले आयोजना गरेको चौथो एनी बुटाबारी गोल्डकपको आय–व्यय विवरण सार्वजनिक गरेको छ। आयोजकले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्दै ३ लाख ३६ हजार ६५ रुपैयाँ बचत गर्न सफल भएको जनाएको छ। आइतबार बिहान आयोजित हिसाब सार्वजनिक कार्यक्रममा क्लबका कोषाध्यक्ष पुण्यप्रसाद तिम्सिनाले प्रतियोगिताबाट कुल २१ लाख ९४ हजार ७९२ रुपैयाँ आम्दानी भएको जानकारी दिनु भयो। उहाँका अनुसार प्रतियोगिता सञ्चालनमा १८ लाख ५८ हजार ७२७ रुपैयाँ खर्च भएको छ।
प्रतियोगिताका लागि बिर्तामोड नगरपालिका–६ वडा कार्यालयबाट ८ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको तथा बाँकी रकम विभिन्न दाता, शुभेच्छुक र संघसंस्थाबाट संकलन गरिएको तिम्सिनाले बताउनु भयो। कार्यक्रममा क्लबका अध्यक्ष रविन राईले बचत भएको रकम खेलाडी उत्पादन, सामाजिक तथा शैक्षिक क्षेत्रमा परिचालन गरिने बताउनु भयो। क्लबले निकट भविष्यमै फुटबल खेलाडी उत्पादनका लागि प्रशिक्षण सञ्चालन गर्ने तथा खेलमैदान विस्तार र मर्मतको काम पनि अघि बढाउने उहाँले जानकारी दिनु भयो। अध्यक्ष राईले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै दाता, संघसंस्था, शुभेच्छुक तथा स्वयंसेवकप्रति आभार व्यक्त गर्नु भयो।
सोही अवसरमा गोल्डकप सञ्चालन तथा विभिन्न सामाजिक क्षेत्रमा निरन्तर सहयोग पु¥याएको भन्दै बिर्तामोड नगरपालिका–६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवालाई क्लबले सम्मान गरेको थियो। कार्यक्रममा हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगतकुमार राई र समाजसेवी रामकुमार कन्दङवाले मन्तव्य राख्नु भएको थियो। संस्थाका सचिव राम विष्टले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष बाबुराम बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो। क्लबका अध्यक्ष रविन राईको अध्यक्षता तथा वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, दाता तथा क्लबका पदाधिकारी र सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
गत वैशाख १२ गते सम्पन्न प्रतियोगिताको उपाधि आयोजक बुटाबारी युनाइटेड क्लबले जितेको थियो। फाइनलमा धरानको फेयर फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै बुटाबारीले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी जितेको थियो। उपविजेता फेयर फुटबल क्लबले १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको थियो। प्रतियोगिताको टाइटल स्पोन्सर खेलकुद पोशाक ब्रान्ड एनी रहेको थियो।









