काठमाडौं,१४ साउन । नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले सुनसरी घटनामा नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भएको छ।
उहाँले भन्नु भयो, ‘काठमाडौंमा गोली चल्दा, मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री–गृहमन्त्री थुनामा बस्नुपर्छ, राजीनामा दिनुपर्छ भने सुनसरीमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ थुनामा बस्नुपर्नेछ।’ यस्तै, उहाँले अरुलाई फौजदारी कसुर थोपर्नेहरू आज घटनाको नैतिक जिम्मेवार लिन तयार छन् कि छैनन् ? भन्दै प्रश्न गर्नु भयो ।
देशमा दंगा भइरहँदा प्रधानमन्त्री गुमनाम बनेको आरोप लगाउँदै उहाँले भन्नु भयो,‘ जनतालाई दुःख पर्दा नेतृत्वमा देखिनुपर्छ। जनताका बीचमा देखिनुपर्छ। जनताको सुरक्षा र मुलुकलाई सुदृढ बनाउन सरकारलाई साथ सहयोग गर्न तयार छौँ। सरकार त्यो ढंगले प्रस्तुत होस्।’









