रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेश अनुसार साउन १५ गते साँझ ५ः०० बजेदेखि साउन १६ गते बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो ।
प्रशासनले तोकेको चार किल्लामा पूर्वमा प्रतिमा चौक र बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चौक तथा दक्षिणमा शंकराचार्य गेट रहेका छन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी गरिएको यस आदेश अनुसार तोकिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी मानिसहरू जम्मा वा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन । प्रशासनले यस आदेशको उल्लंघन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ ।









