काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान–२०८३’ को सामूहिक हस्ताक्षर कार्यक्रममा बोल्दै कोइरालाले आफूले संवैधानिक राजसंस्थाको अवधारणा बीपी कोइरालाबाट सिकेको बताउनु भयो।
उहाँले भन्नु भयो, ‘हामीलाई संवैधानिक राजसंस्था चाहिन्छ भनेर बुझेको, बोलेको मैले बीपी बाबाट नै सिकेको हो। सुरु–सुरुमा उहाँका विचार समाजवाद वा कम्युनिज्मतर्फ झुकेका थिए। तर समयसँगै मुलुकको परिस्थिति, भूगोल र देशको भविष्यलाई मूल्याङ्कन गर्दै उहाँ यो निष्कर्षमा पुग्नुभयो कि नेपालका लागि राजसंस्था अत्यन्त जरुरी छ।’ उहाँका अनुसार बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिले राजसंस्था र प्रजातन्त्रलाई परस्पर विरोधी नभई लोकतन्त्रको प्रतीकका रूपमा व्याख्या गरेको थियो।
‘उहाँले राजा र मेरो घाँटी एउटै दरबारको मियाँमा छ भन्नुभएको थियो। राजसंस्था लोकतन्त्रको प्रतीक हो। त्यो कुरा त्यतिबेला पनि उत्तिकै महत्त्वपूर्ण थियो, अहिले झन् बढी महत्त्वपूर्ण भएको छ,’ उहाँले भन्नु भयो। कोइरालाले गणतन्त्र र बहुदलीय व्यवस्थापछि नेपाली जनताले देखेको समृद्ध र बलियो राष्ट्रको सपना पूरा हुन नसकेको टिप्पणी गर्नु भयो। ‘हामीले राष्ट्रिय तत्वलाई साइडमा राखेर विदेशी अवधारणा पछ्याउने प्रयास ग¥यौं। त्यसले देशलाई सहयोग गरेन,’ उहाँले भन्नु भयो्।
उहाँले नेपालको एकीकरण गर्ने वंश र संस्थालाई कमजोर बनाउँदा राष्ट्रियता पनि कमजोर हुने दाबी गर्नु भएको छ्। ‘जसको पुर्खाले यो देश बनायो, त्यस्तो संस्थालाई साइडमा राख्दा राष्ट्रियता कमजोर हुँदै जान्छ। हाम्रो जस्तो भूगोल भएको देशका लागि यो निकै डरलाग्दो अवस्था हो। देश सधैं स्वतन्त्र, सार्वभौम र सुरक्षित रहोस् भन्ने हो भने राजसंस्था अपरिहार्य छ,’ उहाँले भन्नु भयो।









