काठमाडौं,१९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहीर अलि भाटले सुनसरीसहित तराई क्षेत्रमा भएका पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गर्नु भएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले तराई घटनामा घाइते भएका रविन्द्र कुमार मेहताको मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ। उहाँले घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको भन्दै शोक व्यक्त गर्नु भएको छ ।
सांसद भाटले धार्मिक ग्रन्थहरूले सबै मानवबीच समानता र सद्भावको सन्देश दिएको उल्लेख गर्दै कुनै पनि धर्मले अर्को धर्मका मानिसप्रति घृणा गर्न नसिकाउने बताउनु भएको छ । उहाँले हिन्दू धर्मको ग्रन्थ गीतामा ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिनः’ को भावना रहेको तथा कुरानले पनि सम्पूर्ण मानव समुदायका लागि समान सन्देश दिएको बताउनु भयो । सांसद भाटले नेपालमा लामो समयदेखि धार्मिक सहिष्णुता कायम रहँदै आएको उल्लेख गर्दै पछिल्ला घटनाले सामाजिक सद्भावमा असर पुर्याएको बताउनु भयो । उहाँले नेपालका मुस्लिम समुदायले राष्ट्रिय एकता र अखण्डतामा कुनै असर नपुर्याएको दाबी गर्दै सबै नेपाली मिलेर यस्ता घटनाको समाधान खोज्नुपर्ने बताउनु भयो ।
सुनसरी र तराई क्षेत्रमा उत्पन्न तनाव नियन्त्रणका लागि गृहमन्त्रीले खेलेको भूमिकाको उहाँले प्रशंसा गर्नु भयो। विपक्षी दलमा रहे पनि सकारात्मक कामको प्रशंसा गर्नुपर्ने भन्दै उहाँले गृहमन्त्रीले समयमै पहल गरेर अवस्था नियन्त्रणतर्फ लैजान सहयोग गरेको बताउनु भयो । सांसद भाटले हिन्दू राष्ट्रको विषयमा पनि धारणा राख्दै राप्रपाले माग गरेको हिन्दू राष्ट्रको अवधारणा कुनै समुदायविरुद्ध नभएको स्पष्ट पार्नु भयो । उहाँले राप्रपाले सबै धर्मप्रति सम्मान र सर्वधर्म सद्भावको पक्षमा रहेको बताउनु भयो ।उहाँले नेपालमा हिन्दू, मुस्लिम, बौद्ध, इसाई लगायत सबै समुदाय मिलेर बसेको उल्लेख गर्दै धार्मिक द्वन्द्वले देशलाई कमजोर बनाउने बताउनु भयो । यस्ता घटनाको पुनरावृत्ति रोक्न गाउँ–गाउँसम्म सामाजिक सद्भावको शिक्षा फैलाउनुपर्नेमा उहाँले जोड दिनु भयो ।








