सुनसरी,२० साउन । सुनसरी जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थान तथा सडक किनारामा राखिएका एकल जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा र ध्वजापताका तीन दिनभित्र हटाउन सार्वजनिक अपिल जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनामा विभिन्न समयमा विभिन्न प्रयोजनका लागि सार्वजनिक स्थानमा राखिएका यस्ता झण्डा तथा ध्वजापताकाहरू सम्बन्धित पक्षले तोकिएको समयसीमाभित्र हटाउन आग्रह गरिएको छ।
प्रशासनले हटाइएका स्थानमा पुनः यस्ता झण्डा नराख्न पनि अनुरोध गरेको छ। साथै, यस कार्यका लागि स्थानीय तह, सरोकारवाला निकाय तथा सबै पक्षबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सार्वजनिक स्थानको उचित व्यवस्थापन, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले यो अपिल जारी गरिएको हो।
प्रशासनले सबै पक्षलाई सूचनाको पालना गर्दै सामाजिक सद्भाव, कानुनी व्यवस्था र सार्वजनिक शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।








