सरकारी उद्योगमा सुधारको संकेत

‘इमान्दारिता र टिमवर्कले रुग्ण उद्योग उठाउन सकिन्छ’ :प्रधानमन्त्री शाह

दमक | २४ साउन  । वर्षौंदेखि बन्द, घाटा र व्यवस्थापकीय कमजोरीको चपेटामा परेका सरकारी उद्योग तथा संस्थान पुनः सञ्चालन र सुधारको दिशामा अघि बढ्न थालेको प्रधानमन्त्री बालेन्द्र साहले दाबी गरेका छन्।

 

प्रधानमन्त्री साहले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय उद्योगलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने सरकारको प्रयासका कारण केही संस्थानमा आशालाग्दा परिणाम देखिन थालेको बताएका हुन्।

 

उनका अनुसार सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याउने, उत्पादन र आम्दानी बढाउने तथा व्यवस्थापन सुधार गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको छ।

 

प्रधानमन्त्री साहले प्रस्तुत गरेको विवरणअनुसार नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखाना विकास समितिमा सुधारका प्रयासले सकारात्मक परिणाम देखाउन थालेका छन्।

 

औषधि लिमिटेडको नाफा ३ करोड

वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको प्रधानमन्त्री साहले बताएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उनको दाबी छ।

चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।

सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा नेपाल औषधि लिमिटेडबाट आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ।

सोही लक्ष्यअनुसार चालु आर्थिक वर्षमा ३७ प्रकारका औषधि उत्पादन गर्ने योजना रहेकामा २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्री साहले बताएका छन्। हाल लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गरिरहेको छ।

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन

वर्षौंदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा पनि अघि बढेको छ।

प्रधानमन्त्रीका अनुसार उद्योगको परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत हुन थालेको उनले बताएका छन्।

परीक्षण उत्पादनको चरणपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने योजना रहेको प्रधानमन्त्री साहको भनाइ छ।

नेपाल एयरलाइन्सको आम्दानीमा वृद्धि

सरकारले सुधारको दाबी गरेको अर्को क्षेत्र हो नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)

प्रधानमन्त्रीका अनुसार गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।

उक्त अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगिता अर्थात् अकुपेन्सी ८६ प्रतिशत पुगेको बताइएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ६ प्रतिशत बढी हो।

यही अवधिमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता समेत भुक्तानी गरिएको प्रधानमन्त्रीले बताएका छन्।

डीडीसीमा किसानको बक्यौता भुक्तानी चक्र घट्यो

दुग्ध विकास संस्थान (डीडीसी)मा किसानको दूधको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको प्रधानमन्त्री साहले बताएका छन्।

उनका अनुसार यसअघि ८ महिनासम्म रहेको भुक्तानी चक्रलाई घटाएर २ देखि ३ महिनामा झारिएको छ। यसअन्तर्गत ७२ करोड रुपैयाँको बक्यौता भुक्तानी चक्रलाई ३५ करोड रुपैयाँमा सीमित गरिएको दाबी गरिएको छ।

किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकमसमेत थप गरिएको छ।

सुधारका प्रयास सुरु भएपछि डीडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक राजस्व ६० लाखबाट बढेर ९० लाख रुपैयाँ पुगेको प्रधानमन्त्रीको भनाइ छ।

त्यस्तै, कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गरेर वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको बताइएको छ।

डीडीसीले चाँडै खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको तथा नगरकोट केन्द्रबाट पुनः चिज उत्पादन सुरु गर्ने तयारी भइरहेको प्रधानमन्त्री साहले बताएका छन्।

सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढेको दाबी

सिंहदरबार वैद्यखाना विकास समितिमा पनि उत्पादन र कारोबार बढेको प्रधानमन्त्रीले बताएका छन्।

उनका अनुसार नयाँ सरकार गठनपछि वैद्यखानाले ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको छ।

गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको दाबी गरिएको छ।

हाल निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको बताइएको छ।

वैद्यखानाले अहिले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको छ भने चालु आर्थिक वर्षमा यो संख्या १५० पुर्‍याउने लक्ष्य राखिएको छ।

त्यस्तै, चालु आर्थिक वर्षमै पाउडर तथा ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने र जडीबुटी तथा औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत राखिएको प्रधानमन्त्री साहले बताएका छन्।

‘इमान्दारिता र समर्पण भए रुग्ण उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ’

प्रधानमन्त्री साहले राष्ट्रिय उद्योगको सुधारका लागि सरकार, व्यवस्थापन र कर्मचारीबीचको समन्वय तथा इमान्दार प्रयास आवश्यक रहेको बताएका छन्।

उनले रुग्ण अवस्थामा रहेका अन्य सरकारी उद्योग तथा संस्थानमा पनि सुधार सम्भव रहेको विश्वास व्यक्त गरेका छन्।

माटोमा उत्पादन बढाउँदै देशलाई आत्मनिर्भर बनाउने अभियानमा सरकार अघि बढिरहेको भन्दै प्रधानमन्त्री साहले यस यात्रामा नागरिकको रचनात्मक साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘इमान्दारिता र टिमवर्कले रुग्ण उद्योग उठाउन सकिन्छ’ :प्रधानमन्त्री शाह

दमक | २४ साउन  । वर्षौंदेखि बन्द, घाटा र व्यवस्थापकीय कमजोरीको चपेटामा परेका सरकारी उद्योग तथा संस्थान पुनः सञ्चालन र सुधारको दिशामा अघि बढ्न थालेको

संसद्को गतिरोध छिटो अन्त्य गर्न सांसद राईको आग्रह

काठमाडौं,२२ साउन । श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गर्नु भएको

स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल

काठमाडौं ,२३ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ। मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण

इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद ओलीको आग्रह

काठमाडौं ,२३ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नु

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

काठमाडौं ,२३ साउन । नेपाल शिक्षक महासंघले सरकारले गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षा ऐन जारी गर्नेलगायत माग पूरा नभए भदौ महिनादेखि आन्दोलनमा उत्रिने निर्णय गरेको