काठमाडौं,२६ साउन । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारका कामकारबाही माथि प्रश्न उठाउनु भएको छ ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताउनु भएको छ । उहाँले प्रधानमन्त्रीले नेपालको भूमि भारतले मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसबारे सदनमा स्पष्ट पार्नुपर्ने माग गर्नु भएको छ।
स्वारले लिम्पियाधुरा, कालापानी र सुस्ता लगायत नेपाली भूभाग भारतले मिचेको विषयमा सरकार मौन बसेको आरोप लगाउनु भएको छ । उहाँले सरकारले चुच्चे नक्सालाई बेवास्ता गरेको भन्दै प्रश्नसमेत गर्नु भएको छ ।भ्रष्टाचार छानबिनका लागि सबैको सम्पत्ति जाँच गर्नुपर्ने माग गर्दै उहाँले दोषी जोसुकै भए पनि न्यायालयको कठघरामा उभ्याउनुपर्ने बताउनु भएको छ । विभिन्न समयमा गठन भएका छानबिन समितिका प्रतिवेदन सार्वजनिक गर्न पनि उहाँले सरकारसँग माग गर्नु भएको छ।स्वाँरले सरकारले जनतालाई आधारभूत सेवा दिन नसकेको आरोपसमेत लगाउनु भएको छ । राहदानी, सवारी चालक अनुमतिपत्र, मालपोत, ग्यास, महँगी तथा स्वास्थ्य बिमा लगायतका विषयमा सर्वसाधारणले समस्या भोगिरहेको उहाँले बताउनु भयो ।
उहाँले प्रधानमन्त्रीसँग भेटका लागि आफूले चैत २१ गते लिखित निवेदन दिएको भए पनि अहिलेसम्म भेट्ने अवसर नपाएको बताउनु भयो । उहाँले भन्नु भयोे, ‘मैले भेट्ने टाइम माग्दा चैत २१ गतेबाट लिखित निवेदन उहाँका स्वकीयको हातमा थमाएको थिएँ । तर आजसम्म पनि भेट्ने मौका पाइँन । तपाईं कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यू ? यो समग्र सुदूरका जनता र अछामका जनतालाई माथि गरेको अपमान हो ।’स्वाँरले सुदूरपश्चिमका जनताको विकास निर्माणका समस्या राख्न आफूले प्रधानमन्त्रीसँग भेट्न खोजे पनि समय नदिइएको गुनासो गर्नु भयो।
उहाँले भन्नु भयो, ‘समग्र सुदूरका जनताका लागि विकास निर्माणका समस्या मैले राख्न खोजेको थिएँ, समय दिनुभएन। यो सुदूरका जनतालाई देखावटी माया तपाईंको चाहिँदैन। त्यो माया फिर्ता लिनुहोस् ।’स्वाँरले सरकारले गरेको काम र प्रतिबद्धताबीच ठूलो अन्तर रहेको भन्दै आलोचना गर्नु भयो। लामो समयदेखि सामाजिक तथा सार्वजनिक क्षेत्रमा काम गरेको आफ्नो अनुभव रहेको उल्लेख गर्दै उहाँले सरकारको काम ‘खोदा पहाड निक्ला चुहा’ जस्तै भएको टिप्पणी गर्नु भयो।









