विराटनगर ,२७ साउन । भौतिक पूर्वाधारको कमी, जनशक्तिको चर्को अभाव र कर्मचारीको असन्तुष्टिका बिच कोशी प्रदेश प्रहरीले कार्यसम्पादन गर्नुपर्ने बाध्यता छ।प्रदेशका कुल युनिटमध्ये ३ सय पचपन्न वटाको मात्रै आफ्नै भवन छ भने बाँकी भाडा र अन्य सरकारी भवनमा आश्रित छन्। कामको अत्यधिक चाप, न्यून सुविधा र अनिश्चित भविष्यका कारण तल्लो तहका प्रहरीमा मोहभङ्ग बढेको छ। नतिजा स्वरूप, पछिल्ला तीन आर्थिक वर्षमा ६०० भन्दा बढी प्रहरीले अनिवार्य अवकाशअगावै राजीनामा दिएका छन्।
सडक सुरक्षा, लागुऔषध र सामुदायिक कार्यक्रमको स्थितिः
प्रदेशमा ५ सय उन्नसाठी जना मात्रै ट्राफिक प्रहरी छन्। एक ट्राफिकको भागमा औसत ९ हजार नागरिक, करिब २ हजार सवारी साधन र छियालीस किलोमीटर सडक पर्छ। अन्ठउन्न पालिकामा अझै ट्राफिक पहुँच छैन। यही अभावका कारण दुर्घटनाबाट बर्सेनि ४ सयभन्दा बढीको मृत्यु हुने गरेको छ।
बरामद तथ्याङ्क अनुसार गाँजा (२७ हजार केजी) र ब्राउन सुगर (१० केजी नाघेको) अवैध कारोबार सहरदेखि गाउँसम्म तीव्र रूपमा फैलिएको छ।
सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिए तापनि आत्महत्या, साइबर अपराध र लागुऔषध प्रयोगका घटना घट्नुको सट्टा बढिरहेका छन्।यद्यपि, जटिल र जघन्य अपराधको अनुसन्धानमा भने प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ। प्रदेश प्रहरी प्रमुख (डीआईजी) शेखर खनालका अनुसार सीमित स्रोत–साधनका बाबजुद कार्यक्षेत्रको वातावरण सुधार गरी मनोबल बढाउने, लागुऔषध नियन्त्रणमा ‘शून्य सहनशीलता’ अपनाउने र परिणाममुखी सुरक्षा व्यवस्था मिलाउने रणनीति लिइएको छ।









