दमक , साउन २७ । दमकमा नयाँ डेन्टल क्लिनिक सञ्चालनमा आउनुअघि नै सेवा र सहकार्यको तयारी तीव्र बनेको छ। लामो समयदेखि दन्त क्षेत्रमा व्यवस्थापन तथा बजार सञ्चालनको अनुभव हासिल गरेका कमल गैरेले आफ्नै तेजस डेन्टल केयर क्लिनिक सञ्चालनमा ल्याउने तयारी गर्नुभएको हो।गैरेले यसअघि दमकमा रहेको ओम शान्ति डेन्टल हस्पिटलको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै दन्त सेवाको बजार व्यवस्थापन र आन्तरिक सञ्चालनबारे अनुभव हासिल गर्नुभएको थियो। यही अनुभवलाई आधार बनाएर उहाँले अहिले आफ्नै डेन्टल क्लिनिक स्थापना गर्नुभएको छ ।
दमकमा दन्त उपचारको सेवा र पहुँच विस्तार गर्ने उद्देश्यसहित स्थापना गरिएको तेजस डेन्टल केयरको औपचारिक उद्घाटन भदौ ४ गते गर्ने तयारी छ। क्लिनिकले सेवा सुरु गर्नुअघि नै विभिन्न संस्थासँग सेवा तथा छुटसम्बन्धी सम्झौता गर्ने कामलाई समेत प्राथमिकता दिएको छ। गैरेका अनुसार तेजस डेन्टल केवल व्यवसाय गर्ने उद्देश्यले स्थापना गरिएको होइन। आर्थिक अवस्था कमजोर भएकै कारण दाँतको उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सेवामा सहुलियत र पहुँचलाई समेत प्राथमिकता दिइएको छ।“हामी व्यापार वा पैसा कमाउन मात्रै यो क्षेत्रमा आएका होइनौँ। पैसा नहुनेले पनि दाँतको उपचार गर्न पाउनुपर्छ भन्ने सेवाभावसहित तेजस डेन्टल स्थापना गरेका हौँ,” गैरेले भन्नुभयो।
क्लिनिकमा हाल ८ जनाभन्दा बढी दन्त चिकित्सकले दैनिक सेवा दिने तयारी गरिएको छ। बिरामीले आफूले रोजेको चिकित्सकसँग उपचार लिन सक्ने र अग्रिम रूपमा नाम टिपाएर तोकिएको समयमै उपचार सेवा लिन सक्ने व्यवस्था मिलाइएको सञ्चालक गैरेले बताउनुभयो।व्यस्त जीवनशैलीलाई ध्यानमा राख्दै क्लिनिकले साँझको समयमा समेत सेवा उपलब्ध गराउने तयारी गरेको छ। साँझ ७ बजेदेखि राति १० बजेसम्म ‘डक्टर च्वाइस’ कार्यक्रम सञ्चालन गर्ने योजना रहेको गैरेले जानकारी दिनुभयो।यस कार्यक्रमअन्तर्गत बिरामीले आफूले रोजेको चिकित्सकसँग सहज रूपमा सेवा लिन सक्नेछन्। अग्रिम नाम टिपाउने र तोकिएको समयमा उपचार सेवा उपलब्ध गराउने व्यवस्थाले लामो समयसम्म अस्पतालमा कुरेर बस्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।









