काठमाडौं,२९ साउन । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा सुझाव सङ्कलन गरिएको छ ।साथै, बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।
बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कारागार तथा हिरासत व्यवस्थापन र फरार कैदीबन्दीको खोजीका विषयमा जानकारी गराउनु भएको छ ।आईजीपी कार्कीले सप्तरी, सिरहा र बाँकेका कारागारमा भएका घटनाका कारण सुरक्षाकर्मीले लामो समय लगाएर विभिन्न सुरक्षा उपाय अपनाउँदै कैदीबन्दीलाई स्थानान्तरण गर्नुपरेको बताउनु भयो ।उहाँले हिरासत तथा कारागार स्थानान्तरणको विषयमा अवलोकनपछि यथाशीघ्र निर्णय लिन सकेमा त्यहाँ हुन सक्ने क्षति तथा संगठित गतिविधि रोक्न सहयोग पुग्ने बताउनु भयो ।
उहाँका अनुसार जेनजी आन्दोलनका क्रममा फरार भएका ६८२ जना अझै पक्राउ पर्न बाँकी छन । त्यसैगरी, विभिन्न कारागारबाट फरार भएका १३ हजार ५८९ जनामध्ये तीन हजारभन्दा बढी अझै पक्राउ पर्न बाँकी रहेको उहाँले जानकारी दिनु भयो ।‘कारागारबाट फरार भएकाहरूको संख्या ठूलो छ । हामीले कारागारमा जति कैदी राखेका छौँ, त्योभन्दा ठूलो संख्या फरार रहेको अवस्था छ । उनीहरू स्वदेश तथा विदेशमा फरार छन् । फरार भइरहने अवस्था पनि विद्यमान छ,’ उहाँले भन्नु भयो ।फरार व्यक्तिको संख्या घटाउन विभिन्न सरकारी निकायमा दर्ता भएका मुद्दाको विवरण प्रहरीको केन्द्रीय अभिलेख प्रणाली (सीआरएस) मा एकीकृत रूपमा समावेश गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
उहाँले वन, सम्पत्ति शुद्धीकरण, राजस्व, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा वैदेशिक रोजगार विभागलगायतका निकायले चलाएका मुद्दाको विवरण प्रहरीको सीआरएसमा समयमै नआउँदा समस्या हुने गरेको बताउनु भयो ।‘ती मुद्दाहरू प्रहरीको सीआरएस सिस्टममा नपठाइएका कारण मुद्दा चल्दाकै अवस्थाबाट सूचना अलग–अलग प्रणालीमा रहन्छ,’ उहाँले भन्नु भयो ।आईजीपी कार्कीले नेपाल प्रहरीको सीआरएसलाई सेन्ट्रल सीआरएस प्रणाली बनाउने नीति रहे पनि अन्य निकायबाट आवश्यक सूचना प्रहरीको प्रणालीमा नआएको बताउनु भयो । उहाँले सबै निकायका मुद्दा तथा अभियुक्तसम्बन्धी विवरणलाई एकीकृत प्रणालीमा जोड्न आवश्यक रहेको बताउनु भयो ।








