मोरङ,२९ साउन । उपभोक्ताको सुरक्षा र एलपी ग्यास वितरण प्रणालीलाई चुस्त एवम् व्यवस्थित बनाउन मोरङ प्रशासनले बजार अनुगमनमा तीव्रता दिएको छ। सोही क्रममा कैफियत भेटिएका ग्यास उद्योग र विक्रेतालाई जिल्ला प्रशासन कार्यालय मोरङले तीन लाखभन्दा बढी जरिवाना तिराएको छ।जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले साउन २७ गते बजार अनुगमन गरेको थियो।
अनुगमन टोली विराटनगर महानगरपालिका–३ स्थित कञ्चनेश्वर ग्यास पसलमा पुग्दा पसलले टोलीलाई जाँचबुझ तथा निरीक्षण कार्यमा सहयोग नगरेको पाइएको थियो। अनुगमन कार्यमा असहयोग गरेपछि उक्त पसललाई तत्काल १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।सोही दिन संयुक्त अनुगमन टोलीले बुढीगंगा गाउँपालिका वडा नं. ५ स्थित रिजालको भान्सा ग्यास उद्योग प्रा.लि. मा पनि आकस्मिक निरीक्षण गरेको थियो।अत्यावश्यक सेवाअन्तर्गत पर्ने उक्त उद्योग ग्यास बुलेटको अभावका कारण त्यस दिन सञ्चालनमा नरहेको पाइएको थियो। तर, उद्योग परिसरमा रिफिल गरी राखिएका १९ वटा सिलिन्डरहरूको तौल परीक्षण गर्दा गम्भीर लापरबाही फेला परेको हो।
एउटा सिलिन्डरमा २४० ग्राम कम तौल फेला परेको थियो।सिलिन्डरमा उल्लेखित म्याद गुज्रिसकेका २ वटा सिलिन्डरमा समेत ग्यास रिफिल गरी, सिल लगाएर बिक्रीका लागि तयारी अवस्थामा राखिएको भेटिएको थियो।यसरी उपभोक्ताको सुरक्षासँग खेलबाड गर्दै म्याद गुज्रेका सिलिन्डर बिक्रीमा राखेको र तौलमा समेत कमी देखिएपछि उक्त उद्योगलाई तत्काल २ लाख पन्चानब्बे हजार रुपैयाँ जरिवाना गरिएको छ। साथै, म्याद गुज्रेका ती दुवै सिलिन्डरको सिल तोडेर नष्ट गर्न लगाइएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बजारमा कालोबजारी, अनियमितता र उपभोक्ताको स्वास्थ्य तथा सुरक्षामा असर पु¥याउने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।









