यी हुन् सर्वदलीय बैठकका १० बुँदे संकल्प

काठमाडौं,११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को आयोजनामा सम्पन्न सर्वदलीय बैठकले बाढीपहिरो तथा विपद् व्यवस्थापनसँग सम्बन्धित १० बुँदे साझा निर्णय गरेको छ ।

भोटेकोशी बाढीपछि बसेको सर्वदलीय बैठकले विपद्मा सबै राजनीतिक दलहरू एक ठाउँमा भएको सन्देश दिएको छ ।

बैठकपछि आठ राजनीतिक दलले संयुक्त वक्तव्य जारी गर्दै आफ्ना वैचारिक मतभेद भन्दा पर रही नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखी एक ढिक्का हुने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्कटको दिगो समाधान र पूर्वतयारीका लागि १० बुँदे साझा सङ्कल्प गरेका छन् ।

बैठकले नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकाशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । घाइतेको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा दलहरू एकमत भएका छन् ।

बैठकले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर नागरिकको जीवनरक्षा र राष्ट्रिय हितलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।

बैठकका प्रमुख संकल्पहरु

१। राहत कार्यको गैर–राजनीतिकरण

विपद् व्यवस्थापनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबै राजनीतिक दल, तीनका संघ संगठन र सदस्यहरूलाई आह्वान गर्दछौँ ।

विपद्को समयमा गरिने सहयोग सस्तो लोकप्रियता वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बन्नु हुँदैन भन्नेमा हामी सम्पूर्ण दलहरू स्पष्ट छौँ ।

तसर्थ, उद्धार र राहत कार्यमा खटिँदा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यको भावनालाई प्रोत्साहित गर्न आह्वान गर्दछौँ । दलहरूका नेता, सदस्य र शुभचिन्तकहरूलाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा मात्र खटिन आग्रह गर्दछौँ।

२। आर्थिक सङ्कलनमा सरकारी एकद्वार प्रणालीको पालना

विपद् व्यवस्थापनमा हुने आर्थिक सङ्कलन पारदर्शी र व्यवस्थित हुनुपर्छ । सम्पूर्ण पार्टी पङ्क्ति, स्वदेश तथा विदेशमा रहेका नागरिक र शुभचिन्तकहरूलाई नेपाल सरकारको आधिकारिक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा सरकारले तोकेको आधिकारिक खातामा मात्र आर्थिक सहयोग जम्मा गर्न हामी विशेष आह्वान गर्दछौँ।

३। सामाजिक सञ्जालको विवेकसम्मत प्रयोग र संवेदनशील सूचना प्रवाह

विपद्को संवेदनशील घडीमा सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक सूचना र अतिरञ्जित दृश्यहरूले समाजमा मनोवैज्ञानिक त्रास सिर्जना गर्नुका साथै प्रभावितहरूको गोपनीयता र आत्मसम्मानमा चोट पुर्याउन सक्दछ ।

तसर्थ, आधिकारिक निकायबाट प्रमाणित सूचनाहरू मात्र सम्प्रेषण गर्न र सामाजिक सञ्जालको संयमित, विवेकसम्मत र उत्तरदायी प्रयोग गर्न हामी सम्पूर्ण नागरिक तथा सञ्चारमाध्यमहरूलाई अनुरोध गर्दछौँ ।

४। हिमतालहरूको वैज्ञानिक अध्ययन र सीमापार संयुक्त पहल

जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र र मित्रराष्ट्र चीनको तिब्बत क्षेत्रमा रहेका हिमतालहरू पग्लिने र विष्फोट हुने उच्च जोखिममा छन् । यसपटकको बाढीले भविष्यमा हुन सक्ने अझ ठूलो महाविपत्तिको सङ्केत गरिसकेको छ ।

तसर्थ, भविष्यको अकल्पनीय क्षतिलाई रोक्न अहिलेदेखि नै नेपालभित्रका जोखिमपूर्ण हिमतालहरूको विस्तृत वैज्ञानिक अध्ययन र नक्साङ्कन अविलम्ब सुरु गर्न हामी सरकारसँग माग गर्दछौँ । साथै, सीमापार ९चीनतर्फ० रहेका हिमतालहरूको जोखिम आकलन र न्यूनीकरणका लागि मित्रराष्ट्र चीनसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी संयुक्त वैज्ञानिक तथा प्राविधिक अध्ययन संयन्त्र गठन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।

५। विपद् कूटनीति र पूर्वसूचना प्रणाली

नदी प्रणालीहरूको सीमापार प्रकृतिका कारण दुई देशबीच पूर्वसूचना प्रणालीको ‘रियल टाइम डाटा’ आदानप्रदानलाई अझै सुदृढ र संस्थागत गर्न आवश्यक छ । माथिल्लो तटीय क्षेत्रमा कुनै पनि प्राकृतिक हलचल हुनासाथ तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित गर्न सकिने गरी प्रविधिमैत्री र भरपर्दो संयन्त्र विकास गर्न सरकारलाई सुझाव दिन्छौँ ।

६। राष्ट्रिय एकता र समावेशी उद्धार

विपद् व्यवस्थापनमा पहिलो प्रतिकार्यकर्ताका रूपमा स्थानीय तहले निर्वाह गरेको भूमिकाको हामी उच्च मूल्याङ्कन गर्दछौँ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू विपद्मा सर्वाधिक जोखिममा पर्ने यथार्थलाई मनन गर्दै तीनको उद्धार, राहत र व्यवस्थापनमा पहिलो प्राथमिकता दिन आग्रह गर्दछौँ ।

७। उत्थानशील पुनर्निर्माण र शून्य सहनशीलता

भत्किएका संरचनाको अझ उन्नत र सुरक्षित पुनर्निर्माणको राष्ट्रिय अभियान अविलम्ब सुरु गरिनु पर्दछ । साथै, विपद्को समयमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा राहतको दुरुपयोग गर्ने कुनै पनि प्रवृत्ति राष्ट्रप्रतिको गम्भीर अपराध भएकाले त्यस्ता कार्यमा संलग्न जोकोहीलाई ‘शून्य सहनशीलता’ को नीति अनुरूप कडा कानुनी कारबाही गर्न हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।

८। जलवायु न्याय र विश्वव्यापी उत्तरदायित्व

हिमालय क्षेत्रमा बढ्दै गएको हिमताल विष्फोट र अस्वाभाविक बाढीको शृङ्खला विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष असर हो, जसमा नेपालको योगदान नगण्य छ ।

नेपालले भोगिरहेका यस्ता ‘हानि र नोक्सानी’ को विषयलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त रूपमा उठान गर्दै, जलवायु न्यायको सिद्धान्त अनुरूप अन्तर्राष्ट्रिय समुदाय र बहुपक्षीय विकास साझेदारहरूलाई दायित्वबोध गराउन सरकारलाई आग्रह गर्दछौँ ।

९। अन्तर्राष्ट्रिय समुदायको सहयोग

अकल्पनीय क्षतिपछिको उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा आवश्यक मानवीय, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मित्रराष्ट्र तथा प्रवासी नेपाली समुदायलगायतलाई अपिल गर्दछौँ ।

१०। दीर्घकालीन समाधानका लागि ‘उच्चस्तरीय सर्वदलीय संयन्त्र’ गठन

विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यहरूलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो र दीर्घकालीन समाधान खोज्नु नितान्त आवश्यक छ। तसर्थ, विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ गठन गर्न हामी सहमत भएका छौँ । यस संयन्त्रले सङ्कटको समयमा मात्र नभई विपद् पूर्वतयारी र दिगो विकासका एजेन्डामा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा बाढी प्रतिकार्यका लागि १२ वटा परिचालन टोली गठन

काठमाडौं,११ भदौ । रसुवामा आएको बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले विभिन्न जिम्मेवारीसहित १२ वटा परिचालन टोली गठन गरेको छ । बाढी प्रभावित क्षेत्रमा

प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् शाह काठमाडौँ फिर्ता

काठमान्डौ,११ ,भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गर्नुभएको छ। आज बिहान ९: ३० बजे

झापा कर्मचारीद्वारा करिब रु आठ लाख बराबरको आर्थिक सहयोग

झापा शिवसताक्षी ,११ भदौ ।नगरपालिकाका कर्मचारीको बिहीबार बसेको बैठकले अधिकृत तहका कर्मचारीबाट जनही रु पाँच हजार, सहायक चौथो र पाँचौँ तहबाट जनही रु चार हजार

सोलार स्ट्रिट लाइटको भुक्तानीमा एक लाख घुस, सूचना प्रविधि अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, ११ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सोलार स्ट्रिट लाइट खरिद

नेपालका लागि भारतले ३७ .५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो

काठमाडौं,११ भदौ । भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान

भाडादरबारे प्रकाशित समाचारप्रति बुद्ध एयरको ध्यानाकर्षण

काठमाडौं,११ भदौ । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हवाई भाडादरसम्बन्धी प्रकाशित समाचार तथा सामग्रीप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भदौ १० गते