काठमाडौँ, १२ भदौ । चीनतर्फ बाढीका कारण बनेको ताल फुट्न थालेको सूचना आएपछि रसुवाको भोटेकोशी र आसपासका क्षेत्रमा थप जोखिमको आकलन गर्न हेलिकोप्टरबाट हवाई निरीक्षण (रेकी) गर्ने तयारी गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) का अनुसार धुन्चे र रसुवाका विभिन्न स्थानमा रहेका हेलिकोप्टरलाई रेकीका लागि परिचालन गरिनेछ। काठमाडौँ विमानस्थलबाट थप हेलिकोप्टर पठाइने छैन।
‘चीनतर्फ ताल फुटेको जानकारी आएको छ। त्यसैले धुन्चे र रसुवामा रहेका हेलिकोप्टरलाई रेकीका लागि पठाउने तयारी छ,’ आरसीसीका एक अधिकारीले भन्नुभयो।
उहाँका अनुसार बाढीपछि उद्धार तथा राहत उडानको समन्वय प्रभावकारी हुन नसकेको गुनासो आएपछि शुक्रबारदेखि आरसीसीले हवाई उद्धारको समन्वय थप व्यवस्थित गरेको छ। हाल उद्धार उडानको समन्वय कानुनमन्त्री सोविता गौतमको संयोजनमा भइरहेको छ।
आरसीसीमा हेलिकोप्टर सञ्चालक, त्रिभुवन विमानस्थल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र मौसमसम्बन्धी निकायका प्रतिनिधि रहने व्यवस्था छ। विपद्का बेला हवाई उद्धार तथा राहत उडानको समन्वयमा आरसीसी सक्रिय हुने गर्छ।








