बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ । कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै आँखा अगाडि वर्षौँको मेहनतले बनाएको संसार पानीको भेलसँगै बगेको छ । विपत्तिको यो घडीमा पीडितका लागि हरेक क्षण भारी बनेको छ । यस्तो अवस्थामा हामीले आफूलाई मात्र होइन, आफ्नो समाज र आफ्नो देशलाई सम्झनुपर्ने समय आएको छ । संकटका बेला राज्यको प्रयाससँगै नागरिकको साथ र सहयोग पनि उत्तिकै आवश्यक हुन्छ ।

 

हामी मध्ये धेरै जना सायद दुई दिन अघिसम्म आफ्नै संसारमा रमाइ रहेका थियौँ । सामाजिक सञ्जालमा हाँसो थियो, मनोरञ्जन थियो, उत्सव थियो । जीवन आफ्नै गतिमा चलिरहेको थियो । तर एकाएक आएको बाढीले त्यो रंगमञ्चको पर्दा झारिदियो । हिजो सम्म रमाइलो लागिरहेको संसार आज कसैका लागि अँध्यारो बनेको छ । कसैको घर छैन, कसैको परिवार छैन, कसैसँग फर्केर जाने ठाउँ छैन । हामीलाई लाग्थ्यो जीवन यस्तै चलिरहन्छ, तर प्रकृतिले एकै झट्कामा सम्झाइदियो—हामी कति असहाय छौँ ।

आज पनि कतिपय आमाबुबा आफ्ना छोराछोरीको बाटो कुरि रहेका छन् । कतिपय छोराछोरी आफ्ना अभिभावक फर्किने आशामा छन् । कतै आफन्तले शव बुझ्न पाएका छैनन्, कतै बेपत्ता प्रियजनको खोजी अझै जारी छ । कसैको हातमा आफ्नो घरको चाबी छ, तर घर छैन । कसैको आँखामा भविष्यको सपना छ, तर त्यो सपना थिचिएको छ भग्नावशेषमुनि । बाढीले माटो, ढुंगा र घर मात्र बगाएको छैन । यसले मानिसका वर्षौँका सपना, सम्झना र सम्बन्ध माथि पनि प्रहार गरेको छ ।

 

तर यही अँध्यारो बीच मानवताको उज्यालो पनि देखिएको छ । सुरक्षाकर्मीहरू आफ्नो ज्यानको पर्वाह नगरी उद्धारमा खटिएका छन् । स्थानीय नागरिकहरू आफ्ना दुःख बिर्सेर अरूको जीवन बचाउन दौडिएका छन् । चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, सञ्चारकर्मी र विभिन्न संघसंस्था राहत र उद्धारमा जुटेका छन् । छिमेकी देश तथा विदेशी सहयोगीहरूले समेत आवश्यक अनुमति र समन्वयमार्फत उद्धार तथा राहतमा हात बढाएका छन् । विपत्तिले सीमा, भाषा र पहिचानभन्दा माथि उठेर मानिस हुनुको अर्थ सम्झाइ रहेको छ ।

 

यो समय कसैलाई दोष दिनेभन्दा पनि हातेमालो गर्ने समय हो । हामी सबैले आफ्नो क्षेत्रबाट सक्ने सहयोग गर्न सक्छौँ । कसैले राहत सामग्री दिन सक्छ, कसैले आर्थिक सहयोग गर्न सक्छ, कसैले स्वयंसेवक बनेर समय दिन सक्छ, कसैले सही सूचना फैलाएर सहयोग गर्न सक्छ । तर सबैभन्दा ठूलो कुरा पीडितको पीडालाई आफ्नो पीडा सम्झिनु हो । आज उनीहरूको घर बगेको छ, भोलि यस्तो विपत्ति हाम्रो ढोकासम्म पनि आइपुग्न सक्छ । त्यसैले संकटमा परेका नेपालीलाई एक्लो छोड्ने होइन, उनीहरूको साथमा उभिने जिम्मेवारी हामी सबैको हो ।

 

हामी साँच्चै कस्तो समाज हौँ भन्ने परीक्षा यस्तै कठिन समयमा हुन्छ । सुखमा साथ दिने मानिस धेरै हुन्छन्, तर दुःखमा हात समाउने मानिस नै आफ्नो हुन् छ। अहिले हजारौँ परिवारलाई हाम्रो एउटा सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ । एउटा कम्बल, एक बोरा खाद्यान्न, एउटा औषधि, केही रुपैयाँ वा केही घण्टाको श्रम—पीडितका लागि त्यो जीवनसँग जोडिएको सहारा बन्न सक्छ । त्यसैले आफ्नो क्षमता र परिस्थितिअनुसार सहयोग गरौँ । राहतका नाममा हुने गलत सूचना र अफवाहबाट जोगिँदै विश्वसनीय माध्यमबाट मात्रै सहयोग गरौँ ।

 

दुई दिनको रंगमञ्चमा हामी सबै आ–आफ्नो भूमिकामा थियौँ । कसैले हाँस्यौँ, कसैले रमायौँ, कसैले आफ्नो संसारमा व्यस्त भयौँ । तर पर्दा झरेपछि वास्तविक जीवन देखियो कतै चित्कार, कतै आँसु, कतै प्रतीक्षा र कतै मौनता । अब प्रश्न एउटै छ यो पीडामा हामी दर्शक बनेर बस्ने कि एउटाको आँसु पुछ्ने हात बन्ने रु देश संकटमा छ । आज पीडितलाई हाम्रो साथ चाहिएको छ । किनकि यो देश सरकारको होइन, हामी सबैको हो । र जब देश रोइरहेको हुन्छ, साँचो नेपाली त्यतिबेला आफ्ना आँसु लुकाएर भए पनि अर्को नेपालीको हात समाउन अघि बढ्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक

भोजपुरमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रशासनको आग्रह

भोजपुर,२१ कार्तीक । जिल्ला प्रशासन कार्यालय भोजपुरले शुभ दीपावली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । राति नौ बजे सम्म