काठमाडौं , १३ भदौ। रसुवाको स्याफ्रुबेँसी प्रहरी चौकीमा कार्यरत प्रहरी हरेन्द्र यादव बाढीमा परी बेपत्ता हुनु भएको छ। नवलपरासी, प्रतापपुर गाउँपालिका–८, डिबनी निवासी यादव बाढीपछि सम्पर्कविहीन हुनु भएको हो ।हरेन्द्रका दाई सुरेन्द्र यादव पनि नेपाल प्रहरी तनहुँमा कार्यरत हुनुन्छ । सुरेन्द्रका अनुसार भाईसँग सोमबार अन्तिमपटक कुराकानी भएको थियो। त्यसबेला हरेन्द्रले आफू घर आउने र दाइलाई पनि बिदा लिएर घर आउन आग्रह गर्नु भएको थियो।
‘म घर आउँछु, आइज तँ पनि बिदा लिएर, सँगै भेट हुन्छ,’ भाईसँग भएको संवाद सुनाउँदै सुरेन्द्रले भन्नु भयो।सुरेन्द्रले पनि भाईलाई आफू भएको ठाउँमा आउन र त्यहीँबाट सँगै घर जाने कुरा गर्नु भएको थियो। त्यसमा हरेन्द्रले ‘ल–ल’ भनेर जवाफ दिएको सुरेन्द्रले बताउनु भयो।भाईसँग भएको अन्तिम कुराकानी सम्झिँदा सुरेन्द्र भावुक बन्नु भएको थियो। लामो समयदेखि प्रहरी सेवामा रहेका भाईसँग सामान्य रूपमा भएको उक्त कुराकानी नै अन्तिम बन्न पुगेपछि उहाँ भावविह्वल हुनुन्छ ।
सुरेन्द्रका अनुसार हरेन्द्रले प्रहरी सेवामा करिब १४ वर्ष बिताइसकनु भएको छ । दुवै दाजुभाई प्रहरी सेवामै कार्यरत रहेकाले परिवारमा पनि उहाँहरूको सेवाप्रतिको गर्व थियो। तर, बाढीमा परी भाई बेपत्ता भएपछि परिवार चिन्तित र शोकमा छ।नेपाल प्रहरीले सार्वजनिक बेपत्ता भएकाहरुको सूचीमा हरेन्द्रको नाम पनि समावेश छ । उहाँको अवस्था अझै अज्ञात रहेकाले परिवार उहाँको खोजी तथा सकुशल उद्धारको प्रतीक्षामा छ।









