बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने

काठमाडौं ,१६ भदौ । बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडेगलेका शवलाई नेपाल सरकारले अस्थायी रूपमा गाडेर व्यवस्थापन गरेको छ । परिवारले पछि विवरण मिलान गर्न सकून् भनेर शव गाड्नुअघि स्वास्थ्य टोलीले प्रत्येक मृतकको डीएनए नमुना संकलन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा पहिचान हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राखिएको जानकारी दिनुभएको हो । उहाँका अनुसार आवश्यक परेमा परिवारको पहिचान तथा धार्मिक संस्कारका लागि अस्थायी रूपमा गाडिएका शव उत्खनन गर्न अनुमति दिइनेछ ।

‘मृतकहरूको पार्थिव शरीर, विशेषगरी पानीमा धेरै समयसम्म रहेका कारण पहिचान हुन नसक्ने र सडेगलेका शवहरूलाई अस्थायी रूपमा गाडिएको छ। पछि परिवारहरूले विवरण मिलान गर्न सकून् भनेर स्वास्थ्य टोलीले गाड्नुअघि प्रत्येक मृतकको डीएनए नमुना लिएको छ र आवश्यक धार्मिक संस्कारका लागि शव उत्खनन गर्न अनुमति दिइनेछ,’ उहाँले भन्नु भयो ।

उहाँले शव व्यवस्थापनका क्रममा सरकारले तय गरेका मापदण्ड तथा निर्देशिकाको पूर्ण रूपमा पालना गरिएको बताउनु भयो ।

प्रवक्ता पौडेल क्षेत्रीका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट ९०३ वटा शव निकालिएको छ भने करिब ४ हजार २०० जना अझै बेपत्ता छन्। उद्धार गरिएकामध्ये ३२३ जना विदेशी नागरिकसहित १० हजारभन्दा बढी व्यक्ति रहेका छन्। उपलब्ध तथ्यांकअनुसार ३८ देशका करिब ५९० जना विदेशी नागरिक अझै सम्पर्कविहीन छन् ।

 

शव पहिचान तथा व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोगसमेत परिचालन गरेको छ । भारतबाट डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको १८ सदस्यीय फोरेन्सिक टोली अगस्ट २९ देखि नेपालमा आएर काम गरिरहेको छ। त्यस्तै, सिङ्गापुरबाट विपद् पीडित पहिचान (डीभीआई) टोली परिचालन गर्ने विषयमा पनि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

‘डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको भारतको १८ सदस्यीय फोरेन्सिक टोली अगस्ट २९ देखि यहाँ आइपुगेको छ । यस सम्बन्धमा सिङ्गापुरबाट विपद् पीडित पहिचान (डीभीआई) टोली परिचालन गर्ने समन्वय पनि भइरहेको छ,’ उहाँले भन्नु भयो ।

शव व्यवस्थापनका लागि नेपालले एयर–टाइट ब्याग समेत प्राप्त गरेको छ भने थप आवश्यक सामग्री आउने क्रममा रहेको प्रवक्ता पौडेल क्षेत्रीले बताउनु भयो ।

उहाँका अनुसार सरकारले बेपत्ता व्यक्तिको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै उपलब्ध सम्पूर्ण स्रोत–साधन परिचालन गरेको छ । उद्धार तथा राहतका लागि भारतबाट आएको विशेष प्राविधिक टोली मैलुङ, चिलिमे र स्याफ्रुबेँसी क्षेत्रमा परिचालन गरिएको छ। चीनबाट आएको टोली माथिल्लो त्रिशूली–३ ‘ए’ को लुकु क्षेत्रमा तथा दक्षिण कोरियाको टोली पनि कार्यक्षेत्रमा खटिएको छ ।

प्रवक्ता पौडेल क्षेत्रीले विपद्सम्बन्धी सूचनामा आधिकारिक तथा प्रमाणीकृत तथ्यांकलाई मात्र आधार बनाउन सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गर्नु भएको छ । उहाँका अनुसार उद्धार तथा खोजी कार्य अघि बढ्दै जाँदा थप प्रमाणीकृत तथ्यांक मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिनेछ ।

सरकारले प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता जारी राखेको जनाएको छ। भारत, चीन, संयुक्त अरब इमिरेट्सलगायत विभिन्न देशबाट टेन्ट, कम्बल, स्लिपिङ ब्याग, खाद्यान्न, औषधि, जेनेरेटर, फ्रिजर, सोलार बत्ती, डीएनए परीक्षण किटलगायत सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि क्षति र आवश्यकताको प्रारम्भिक मूल्यांकन भइरहेको र विस्तृत विपद्पश्चात्को आवश्यकता मूल्यांकन गर्ने तयारी भइरहेको पनि प्रवक्ता पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेबुल नगरिएको भन्दै सदन अवरुद्ध

सुर्खेत,१६ भदौ। कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सदन अवरुद्ध गर्नुभयो । आफूले दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरिएको भन्दै सदन अवरुद्ध गराउनु भएको हो ।

बाढीबाट हालसम्म १,००३ जनाको मानवीय क्षति, ३,९१६ जना सम्पर्कविहीन

काठमाडौं ,१६ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म एक हजार ३ जनाको मानवीय क्षति भएको छ ।

नवलपरासीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार

काठमाडौं,१५ भदौ ।पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो । ब्यूरोको

बाढी प्रभावितका लागि सभामुखले एक महिनाको पारिश्रमिक सहयोग गर्ने

काठमाडौं ,१६ भदौ। सभामुख डोल प्रसाद डीपी अर्यालले हालै आएको भीषण बाढी तथा विपदबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एक महिनाको

आफैं विपदमा गरेको खुम्बु पासाङल्हामुले रसुवाका बाढीपीडितलाई २२ लाख दिने

सोलुखुम्बु,१६ भदौ । आफैं बाढी र विपद्को पीडाबाट भर्खरै तंग्रिँदै गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा

एमालेद्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान

काठमाडौं,१५ भदौ । भोटेकोशीको विपत्तिमा परेका नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनस्र्थापनाका लागि नेकपा (एमाले)द्वारा गठित