जलवायु संकटको वास्तविक विनाश

गुटेरेसको चेतावनी देखि भोटेकोशी विपद् र न्यायको खोजीसम्म

काठमाडौँ,१७ भदौ । नेपालका हिमाली भेगमा वर्षेनी बढ्दै गएको तापक्रम, पग्लिरहेका हिमनदी र त्यसले निम्त्याइरहेको विपद्ले देशको जलवायु संकट अब चेतावनीको तहबाट पार गरी वास्तविक विनाशको रूपमा देखा परिरहेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले करिब तीन वर्षअघि खुम्बुमा उभिएर दिनुभएको चेतावनी अहिले थामे र भोटेकोशीका विपद्मा साँचो सावित भइरहेको छ । र यही यथार्थलाई विश्व मञ्चसम्म पु¥याउँदै महिला नेतृत्वको सामाजिक संस्था ‘साथसाथै फाउन्डेसन नेपाल’ले जलवायु न्यायका लागि खुम्बु, कर्णाली र तराईदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय तहसम्म निरन्तर आवाज उठाउँदै आएको छ ।

यो पागलपन रोक्नुपर्छ : गुटेरेस

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस सन् २०२३ अक्टोबरमा चार दिने नेपाल भ्रमणमा आउँदा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका पुग्नु भएको थियो। त्यहाँ स्थानीयवासीसँग भेटेर जलवायु परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको असर बुझेपछि उहाँले जारी गरेको भिडियो सन्देश विश्वभर चर्चित बनेको थियो । सञ्चारमाध्यममा आए अनुसार महासचिवले हिमालमा रेकर्ड स्तरमा हिउँ पग्लिरहेको, ग्रीनल्यान्ड र अन्टार्कटिकामा जस्तै समुद्री सतह बढिरहेको र यसैका कारण बाढी–पहिरोले समुदाय गम्भीर रूपमा प्रभावित भइरहेको बताउँदै विश्वलाई यो ‘पागलपन रोक्नुपर्छ’ भन्दै आग्रह गर्नु भएको थियो । ‘हिमनदी पछि हट्दै छन्, हामी भने पछि हट्न सक्दैनौं । जलवायु कार्यमा अगाडि बढ्नैपर्छ,’ उहाँले भन्नु भएको थियो ।

 

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार महासचिवले स्थानीयका चिन्ता र सुझावसहित यो विषय कोप–२८ सम्म पु¥याउने प्रतिबद्धता जनाउनु भएको थियो । पछि दुबईमा भएको कोप–२८ मा पनि उहाँले नेपाल र अन्य हिमाली मुलुकले आफूले नगरेको संकटको मार खेपिरहेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको थियो ।

 

महासचिवको सोही भ्रमणको सन्दर्भमा साथसाथै फाउन्डेसनकी अध्यक्ष प्रजिता कार्कीले पनि भिडियो सन्देशमार्फत उहाँसमक्ष हिमाली समुदायले भोगिरहेको यथार्थ पु¥याउने प्रयास गर्नु भएको थियो । तापक्रम वृद्धिका कारण हिमाल पग्लिँदै गएको परिवेश, त्यसले स्थानीय जनजीवनमा पारेको प्रत्यक्ष असर र जलवायु न्यायको आवश्यकता तर्फ विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले जारी गरिएको यो सन्देश नगन्य कार्बन उत्सर्जन गर्दागर्दै पनि सबैभन्दा बढी मार खेप्नुपरेको नेपालका पहाडी र हिमाली समुदायको पीडालाई अन्तर्राष्ट्रिय नेतृत्वसम्म पु¥याउने संस्थाको निरन्तर प्रयासकै एक कडी थियो ।

 

थामेको हिमताल विष्फोट र चेतावनी वास्तविकतामा

महासचिवको भ्रमणको ठ्याक्कै एक वर्षपछि, सन् २०२४ अगस्ट १६ मा खुम्बुकै थामे गाउँमा हिमताल विष्फोटजन्य बाढी जीएलओएफ ले ठूलो क्षति पु¥यायो । काठमाडौं पोस्टका अनुसार थामे नदीमा आएको यस बाढीले हिलो, गिट्टी र ढुंगा बगाएर ल्याउँदा खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्ब. ५ मा २० घर, एउटा प्राथमिक विद्यालय र एउटा स्वास्थ्य चौकी क्षतिग्रस्त भए, जसमा १३५ जना विस्थापित बने । पछिको हवाई निरीक्षणले थामे माथिका पाँच साना हिमतालमध्ये दुई विष्फोट भएको पुष्टि गरेको थियो ।

भोटेकोशीको विनाशकारी बाढी

अगस्ट २०२६ मा रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीले नेपालको हालैका वर्षकै सबैभन्दा ठूलो विपद् निम्त्यायो । टिमुरे र स्याफ्रुबेसीबाट सुरु भएको यो बाढीले सडक, पुल र संरचनाहरू बगाउँदै त्रिशूली नदी प्रणालीसम्म तहसनहस पा¥यो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म एक हजार बढीको शव फेला पारिसकेको र करिब ४,६०६ जना अझै बेपत्ता रहेको जनाएको छ ।

चितवनमा सबैभन्दा बढी शव भेटिएका छन् भने नवलपरासी पूर्व, नवलपरासी पश्चिम, नुवाकोट, गोरखा, धादिङ, तनहुँ र रसुवामा शव फेला परेका छन् । धेरै शव मूल बाढी क्षेत्रबाट सयौं किलोमिटर तल बगेर गएको पाइएको छ । जलवायु तथा मौसम विज्ञान विभागले उपग्रह चित्रका आधारमा यो घटना पनि रसुवाको लेन्दे खोलामा भएको हिमताल विष्फोटकै परिणाम भएको निष्कर्ष निकालेको छ । सन् २०२५ जुलाईमा त्यही क्षेत्रमा भएको उस्तै घटनापछि यो दोस्रोपटक विपत्ति आएको हो ।

खुम्बुदेखि कर्णाली र तराईसम्मको संघर्ष

साथसाथै फाउन्डेसनले जलवायु न्याय, महिला सशक्तीकरण, दिगो विकास र पर्यटनजस्ता विषयलाई केन्द्रमा राखेर खुम्बु, कर्णाली र तराई गरी तीनवटै भौगोलिक क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । खुम्बुमा गोक्यो जलवायु सम्मेलनबाट नौ बुँदे ‘गोक्यो घोषणापत्र’ जारी भएको थियो भने मुगुको रारा तालमा आयोजित ‘कर्णाली कन्क्लेभ’ बाट ‘कर्णाली घोषणापत्र’ जारी भई कर्णालीका समुदायको आवाजलाई अन्तर्राष्ट्रिय जलवायु वार्तासम्म पु¥याउने प्रतिबद्धता जनाइएको थियो । यसरी स्थानीय तहमा उठेका आवाज र प्रमाणलाई प्रदेश र संघीय संसद्समेतमा पु¥याउँदै स्थानीय र केन्द्रीय सरकारबीचको खाडल पुर्ने प्रयास पनि संस्थाले गर्दै आएको छ ।

सरकारी तहबाट पनि थुप्रै पहल

विपद्को यो शृंखलाका बीच नेपाल सरकारले पनि जलवायु क्षेत्रमा केही सकारात्मक कदम चालेको छ । वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा तयार भई सन् २०२५ मे महिनामा संयुक्त राष्ट्र संघमा बुझाइएको नेपालको तेस्रो राष्ट्रिय निर्धारित योगदान एनडीसी ३.०० ले सन् २०३० सम्ममा खुद हरितगृह ग्यास उत्सर्जन १७.१२ प्रतिशत र सन् २०३५ सम्ममा २६.८ प्रतिशतसम्म घटाउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ ।

नवीकरणीय विद्युत् क्षमता २८,५०० मेगावाटसम्म विस्तार गर्ने, यातायात र उद्योगमा विद्युतीकरण बढाउने र दिगो वन तथा फोहोरमैला व्यवस्थापन प्रवद्र्धन गर्ने लक्ष्यसमेत यसमा समेटिएका छन्। जलवायु–अनुकूल कृषि, पानी तथा ऊर्जा प्रणाली, विपद् पूर्वतयारी र पर्यटनजस्ता क्षेत्रलाई पनि अनुकूलनका प्राथमिकतामा राखिएको छ ।

राष्ट्रिय अनुकूलन योजना न्याप अन्तर्गत बहुजोखिम पत्ता लगाउने पूर्व–चेतावनी प्रणाली, एकीकृत जलाधार व्यवस्थापन र हिमताल विष्फोट जीएलओएफ जोखिम न्यूनीकरण जस्ता कार्यक्रम पनि कार्यान्वयनको चरणमा रहेका छन्, जुन थामे र भोटेकोशी जस्ता घटनापछि झनै सान्दर्भिक बनेका छन्। यसबाहेक सन् १९८० को दशकदेखि सुरु भएको सामुदायिक वन व्यवस्थापन नीतिले नेपालको वन क्षेत्रफल सन् १९९२ को २६ प्रतिशतबाट हाल झन्डै ४५ प्रतिशतसम्म पु¥याएको छ, जुन विश्वकै उदाहरणीय जलवायु–मैत्री पहल मध्ये गनिन्छ। नेपालले सन् २०२१ मा ग्लास्गोमा भएको कोप–२६ मा सवारी साधनलाई पूर्ण विद्युतीय बनाउने प्रतिबद्धता पनि जनाएको थियो।

गुटेरेसले खुम्बुमा देखेको यथार्थ, दुई वर्षपछि थामेमा दोहोरिएको हिमताल विष्फोट र अहिले भोटेकोशीमा एक हजार भन्दा बढी ज्यान लिएको विनाशकारी बाढी सबैले महासचिवले नै दिएको चेतावनी अझ टड्कारो बनाएको छ।सरकारले नीतिगत तहमा थुप्रै प्रतिबद्धता जनाइसकेको सन्दर्भमा साथसाथै फाउन्डेसन जस्ता संस्थाले उठाउँदै आएको जलवायु न्यायको माग अब यी प्रतिबद्धतालाई स्थानीय तहसम्म चाँडो र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकताको रूपमा देखा परिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गण्डकीका नवनियुक्त मन्त्री देवकोटाले लिए शपथ

बाठमान्डौ,१७ भदौ ।  गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटाले प्रदेश प्रमुख डिल्लीराज

पेट्रोलियम र दुईपांग्रेलाई एकतर्फी, अन्य गाडी सुरुङमार्ग हुँदै आवतजावत

काठमाडौं,१७ भदौ । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । बुधबार बिहान सडकको केही भाग भासिएपछि

केन्द्रीय समिति बैठकमा सुदन किराँती समूहले ‘असहमति’ दर्ज गराउने

बाठमान्डौ,१७ भदौ । श्रम संस्कृति पार्टीको धरानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार वरिष्ठ नेता सुदन किराँतीसहितका नेताहरू सहभागी भएका छन्। मंगलबार सुरु भएको

टनेल र खोँचहरूमा अझै मानिसहरू उद्धारको पर्खाइमा रहेको सांसद खरेलको भनाइ

काठमाडौं,१७ भदौ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल जारी छ । छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र

प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं,१७ भदौ । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन

भोटेकोशी उद्धारमा सरकारलाई सघाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं,१७ भदौ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार र राहतमा सरकारलाई पूर्ण सहयोग गर्ने जनाएको छ। तर, सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा भएको ढिलासुस्तीप्रति