काठमाडौं,१७ भदौ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल जारी छ । छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले भोटेकोशी बाढीका कारण अझैं पनि विभिन्न स्थानमा मानिसहरू उद्धारको पर्खाइमा रहेको बताउनु भएको छ ।खरेलले बाढी प्रभावित कतिपय मानिस टनेल, कुनाकाप्चा तथा खाल्डाखुल्डीमा थोरै पानी खाएर भए पनि उद्धारको आशामा बसिरहेको हुन सक्ने बताउनु भयो । ‘अहिले पनि भोटेकोसी बाढीबाट कतै टनेलतिर, कतै कुनाकाप्चातिर र कतै खाल्डोतिर स्वदेशी वा विदेशी मानिसहरु थोरै पानी खाएर भए पनि उद्धारको पर्खाइमा बसिरहेका छन्,’ उहाँले भन्नु भयो, ‘कोही आउँछ र मेरो जीवन बचाउँछ भनेर पर्खिरहेका छन् कि भन्ने सोचले मेरो मन अधैर्य भइरहेको छ ।’
दर्जनौँ मानिस अझै जीवनको आशामा उद्धारको प्रतीक्षा गरिरहेको हुन सक्ने उहाँले बताउनु भयो । बाढीका कारण ठूलो मानवीय क्षति भएको बताउँदै उहाँले एक हजारभन्दा बढी शव प्राप्त भएको बताउनु भयो ।उहाँले भन्नु भयो, ‘हामी यो अवस्थामा छौँ । हजार भन्दा बढी शवहरू प्राप्त भएको छ । कयौँको पहिचान भएको छैन । ४ हजारको हाराहारीमा मानिस हराएका छन् । नेपाल सरकारको अगुवाइमा हामीले १२ हजार भन्दा बढीको उद्धार गर्न सकेका छौँ ।’
उहाँका अनुसार करिब ४ हजार मानिस अझै हराइरहेका छन् । यद्यपि, नेपाल सरकारको अगुवाइमा १२ हजारभन्दा बढी मानिसको उद्धार गर्न सफल भएको उहाँले बताउनु भयो । खरेलले विपद्का विषयमा नकारात्मक ‘न्यारेटिभ’ निर्माण नगर्न पनि आग्रह गर्नु भयो। ‘केही भएको छैन भन्ने होइन, धेरै भइरहेको छ । रातदिन काम भइरहेको छ । तपाईं–हामी सबै लागिरहेका छौँ,’ उहाँले भन्नु भयो ।उहाँले अप्रत्याशित र अकल्पनीय रूपमा आएको बाढीको सामना सबै मिलेर गर्नुपर्नेमा जोड दिनु भयो । साथै, उद्धारका क्रममा विदेशी नागरिकलाई पनि नेपाली नागरिकहरुलाई प्राथमिकतामा राखेर उद्धार गरिएको उहाँले बताउनु भयो ।


