बिर्तामोड,१७ भदौ । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८ हजार ६८० रुपैयाँ आर्थिक सहयोग गरेको छ।प्रतिष्ठानले उक्त रकम संकलन गरी राष्ट्रिय वाणिज्य बैंक, बिर्तामोड शाखामार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो।प्रतिष्ठानका अध्यक्ष अफ्रोज खान पठानको नेतृत्वमा समुदायका सदस्य तथा शुभेच्छुकहरूबाट सो रकम जुटाइएको हो। प्राकृतिक विपद्का कारण घरबार र आफन्त गुमाएका पीडितहरूको घाउमा मलम लगाउन तथा सामाजिक उत्तरदायित्व पूरा गर्न सहयोग गरिएको प्रतिष्ठानले जनाएको छ।
धार्मिक तथा सामुदायिक सीमाभन्दा माथि उठेर मानवीय सेवा र सामाजिक सदभावलाई संस्थाले सधैँ प्राथमिकता दिँदै आएको अध्यक्ष पठानले बताउनुभयो। विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र र आमनागरिक सबै मिलेर प्रभावितहरूको तत्काल राहत र दीर्घकालीन पुनःस्थापनामा जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो।पारदर्शी रूपमा संकलन गरी कोषमा पठाइएको यो सहयोगले पीडितको पुनःस्थापनामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रतिष्ठानले आगामी दिनमा पनि मानवीय विपद्का कार्यहरूमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ।









