काठमाडौँ , २० भदौ । नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने हल्ला फैलिएपछि बाढी पूर्वसूचना केन्द्रले तत्काल ठूलो बाढीको सम्भावना नरहेको स्पष्ट पारेको छ।विभिन्न माध्यमबाट हिमताल विस्फोट र बाढीको जोखिमबारे चासो राख्दै अत्यधिक सोधपुछ आएपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको केन्द्रले शुक्रबार राति एक सूचना जारी गर्दै वास्तविकता सार्वजनिक गरेको हो। केन्द्रले चिनियाँ समकक्षी निकायसँग निरन्तर सम्पर्कमा रही प्राप्त सूचना र स्थितिबारे नियमित अनुगमन गरिरहेको जनाएको छ।
हालसम्म प्राप्त तथ्याङ्क एवं सूचनाका आधारमा तत्कालै ठूलो बाढी आउने कुनै सम्भावना नदेखिएकाले असम्पुष्ट र भ्रामक हल्लाको पछि नलाग्न तथा संयमित रहन सर्वसाधारणलाई आग्रह गरिएको छ। जलसतह बढ्ने वा बाढीको जोखिम देखिएमा केन्द्रले मोबाइलमा ‘एसएमएस’ मार्फत तत्काल पूर्वसूचना सम्प्रेषण गर्ने जनाएको छ। थप जानकारी वा सोधपुछका लागि टोलफ्री नम्बर ११५५ २ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।









