काठमाडौँ , भदौ २१। नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरू गर्नुअघि पार्टीभित्रका विवाद मिलाउन अन्तिम प्रयास सुरू गर्नुभएको छ ।यसअन्तर्गत सभापति थापाले निवर्तमान सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग भेटवार्ता गर्नुभएको छ ।कांग्रेसका एक पदाधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच शनिबार बेलुकी भेटवार्ता भएको थियो।सभापति थापाले आज बिहान ११ बजे नेता शेखर कोइरालासँग भेटवार्ता गर्नुभएको छ । खड्का र कोइराला गत पुसको विशेष महाधिवेशनमा सहभागी हुनुहुँदैनथ्यो।विशेष महाधिवेशनमा सहभागी नरहेका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने बेग्लै महाधिवेशन गर्न कार्यतालिका पनि जारी गर्नुभएको छ । कार्यतालिका जारी गर्ने चुनदेवी बैठकमा सहभागी नरहेका खड्का र कोइरालासँग सभापति थापाले कुराकानी गर्नुभएको छ ।
भदौ २४ गतेदेखि वडा अधिवेशन सुरू हुने कार्यतालिका छ। त्यसअघि सभापति थापाले देउवा, खड्का र कोइरालासँग भेटवार्ता गरी पार्टी एकताको अन्तिम प्रयास गर्नुहुनेछ। निवर्तमान सभापति देउवासँग यसअघि सभापति थापाले भेट्न खोजे पनि समय उपलब्ध भएको थिएन।यसबीच सर्वोच्च अदालतले कांग्रेस १५ औं महाधिवेशन कार्यतालिकामा अन्तरिम आदेश दिएन। त्यसपछि असोज १६ देखि १९ गतेसम्म पूर्वनिर्धारित कार्यतालिकामै महाधिवेशन गर्ने तयारी कांग्रेसको छ।तर संस्थापनइतर पक्षसँग सहमति बनेका खण्डमा तल्ला तहका अधिवेशन कार्यतालिका संशोधन गर्न कांग्रेस तयार देखिन्छ। ‘संस्थापनइतर पक्षका नेताहरूसँग सहमति जुटे अधिवेशन कार्यतालिका फेरबदल हुन सक्छ। सहमति जुट्ने वा नजुट्ने भन्ने कुरा सर्वोच्च अदालतमा रहेको मुद्दासँग पनि जोडिएको ती पदाधिकारी बताउँछन्। ‘निवर्तमान सभापति देउवा र निवर्तमान कार्यवाहक सभापति खड्काले सर्वोच्चमा मुद्दा दिनुभएको छ, सहमति हुने र कार्यतालिका हेरफेर हुने अवस्था आए सर्वोच्चमा रहेको मुद्दा के हुन्छ भन्ने कुरा पनि आउला। त्यसो हुँदा त्यो मुद्दा फिर्ता लिनुपर्ने स्थिति बन्छ,’ ती पदाधिकारीले बताउनुभयो ।देउवा र खड्काले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा पुनरवलोकन मागेकोमा अदालतले अनुमतिसहित निस्सा दिनुभएको थियो। सभापति थापाले देउवा पक्षसँग पनि भेटवार्ताको तयारी गर्नुभएको छ । देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइराला संयोजक बनाएर १५ औं महाधिवेशन तयारी समिति गरी बैठकहरू गर्दै समानान्तर गतिविधिसहित महाधिवेशन कार्यतालिका पनि जारी गरिसक्नुभएको छ ।










