काठमान्डौ,२१ भदौ । बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिएको गुनासो गर्नु भएको छ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री प्रजापतीले संघीयता कार्यान्वयन भएको लामो समय बितिसक्दा पनि प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्न संघ सरकारले आनाकानी गरिरहेको आरोप लगाउनु भयो।
पर्यटन क्षेत्रको अधिकारसमेत संघीय सरकारले आफ्नो नियन्त्रणमा राखेको उहाँको भनाइ छ। प्रदेश सरकारलाई बजेट खर्च गर्ने र स्थानीय तहमा विकासका काम गराउने सीमित भूमिकामात्र दिइएको उहाँले बताउनु भयो।
मन्त्री प्रजापतीले अधिकारविहीन अवस्थामा प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठ्ने बताउनु भयो। प्रदेशलाई अधिकार दिन नसक्ने हो भने प्रदेश सरकार किन राखिरहने भन्ने प्रश्नसमेत उहाँले गर्नुभयो।
उहाँले संघीय सरकारले प्रदेशमा सञ्चालनमा रहेका सफ्टवेयर प्रणालीसमेत परिवर्तन गरेर नयाँ प्रणाली लागू गर्न खोज्दा समस्या उत्पन्न भएको बताउनु भयो।
विशेषगरी बागमती प्रदेशमा व्यवस्थित रूपमा सञ्चालन भइरहेको सवारी चालक अनुमतिपत्रसम्बन्धी सफ्टवेयर हटाएर संघीय सरकारले सातै प्रदेशमा नयाँ प्रणाली लागू गर्न खोजेको र त्यस क्रममा सेवाग्राहीले समस्या भोग्नुपरेको उहाँको दाबी छ।









