काठमाडौँ ,२१ भदौ। रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उहाँका नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।
गएको भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण सो गाउँपालिका यातायात सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको थियो।
गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएपछि आमा र शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएर तत्काल हवाई उद्धार गरी काठमाडौँ स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्याइएको सो गाउँपालिकाका प्रवक्ता दावागोम्बो तामाङले जानकारी दिनु भयो ।
सुत्केरी आमा र नवजात शिशुलाई अस्पताल ल्याइएको सो अस्पतालले जनाएको छ । २९ वर्षीया गर्भवती तामाङलाई समय नपुगी व्यथा लागेपछि अस्पताल भर्ना गरिएको हो। ३३ हप्ता ५ दिनको गर्भ रहेकी दोस्रोपटक आमा बन्न लाग्नु भएको छ।
हाल एन्टीनेटल केयर वार्डको ३५ नम्बर बेडमा राखिनु भएकी उहाँको स्वास्थ्य अवस्थाको थप मूल्याङ्कनका लागि भिडियो एक्सरे तथा अन्य रिपोर्टहरू सङ्कलन गरी उपचार प्रक्रिया अघि बढाइएको अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले जानकारी दिनु भयो ।










