काठमाडौं ,२२ भदौ । जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा आन्दोलनबाट उठाइएका मुद्दा, त्यसपछिको राजनीतिक परिस्थिति र सरकारको कार्यशैलीलाई लिएर जेनजी पुस्ताभित्रै समीक्षा सुरु भएको छ ।जेनजी कोशी प्रदेश का संयोजक उपार्जन चाम्लिङका अनुसार आन्दोलनपछिको एक वर्ष नयाँ पुस्ताका लागि आफैँले उठाएका आदर्श, मुद्दा र प्रतिबद्धताप्रति कति इमानदार र जिम्मेवार रहन सकियो भन्ने परीक्षणको समय बनेको छ ।जेनजी दिवसका सन्दर्भमा चाम्लिङले जेनजी पुस्ता अझै परीक्षाकै चरणमा रहेको बताउनु भयो।‘ठुलो परीक्षा जस्तो रह्यो वितेको एक वर्ष,’ उहाँले भन्नु भयो, ‘जेनजी मुभमेन्टपछि प्रश्न, आलोचना र मुद्दासहित सडकमा आएको पुस्ताले मुलुकलाई नयाँ दिशानिर्देश, नयाँ आदर्श र नयाँ सन्देश दिएको थियो । त्यसपछि आफ्नै निर्देशन, आदर्श र आदेशप्रति कति इमानदार र जिम्मेवार देखियौँ भन्ने कुरा आफैँले आफैँलाई परीक्षा लिएको जस्तो भयो ।’
उहाँका अनुसार अहिले जेनजी पुस्ता आफ्ना गतिविधिको समीक्षा गर्ने र आवश्यक ठाउँमा आत्मबल बढाउने अवस्थामा छ । केही साथीहरू आन्दोलनपछिको पुनस्थापना तथा राहतका काममा फिल्डमै खटिएको उहाँले बताउनु भयो । आफ्नो बुताले भ्याएसम्मको पुनस्थापनामा के–कसरी योगदान गर्न सकिन्छ भनेर छलफल भइराखेको छ । केही साथीहरू फिल्डमै पनि खटिरहनुभएको छ । सूचना लिने, दिने र गर्न सक्नेसम्मको काम भइराखेको छ । त्यहाँभन्दा थप अरू भइराखेको छैन,’ उहाँले भन्नु भयो।चाम्लिङका अनुसार जेनजी पुस्ताको सडक उपस्थिति गत वर्ष भदौ २३ गतेबाट मात्र सुरु भएको होइन । त्यसअघि पनि लोकतन्त्र, सामाजिक न्याय, पहिचान र अभिव्यक्ति स्वतन्त्रताका सवालमा जेनजी पुस्ताका युवाहरू विभिन्न आन्दोलनमा सहभागी हुँदै आएका थिए । उहाँले सरकारका निर्णय र कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको अवस्थामा आलोचना गर्ने मञ्चहरू समेत साँघुरिँदै गएपछि जेनजी पुस्ता आफ्नै नेतृत्वमा सडकमा उत्रिएको बताउनु भयो ।
‘विगतका सरकारका निर्णय, रवैया र भावभङ्गीबाट आजित जनता सरकारको आलोचना गरिराखेकै थिए । सरकारले आलोचना गर्ने प्ल्याटफर्महरू पनि संकुचित गर्दै लगेको परिस्थितिमा हाम्रो पुस्ताका धेरै साथीले त्यसलाई निको मान्नुभएन,’ उहाँले भन्नु भयो ।त्यसपछि सडकबाटै जवाफ खोज्नुपर्ने आवाज उठेको उहाँको भनाइ छ । विगतका दशकदेखिको शासन प्रणालीको हिसाब खोज्ने र लोकतन्त्र तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्ने प्रवृत्तिविरुद्ध आफूहरू सडकमा आएको उहाँले बताएउनु भयो।‘स्वेच्छाचारी र अधिनायकवादी शासकलाई घुँडा टेकाउनुपर्छ भन्ने ध्येयसहित हामी सडकमा आयौँ,’ चाम्लिङले भन्नु भयो।जेनजी आन्दोलनले इमानदारी, सुशासन र राजनीतिक सुधारको अपेक्षा राखेको भए पनि अहिलेको सरकारको कामबाट पूर्ण रूपमा उत्साहित हुने अवस्था नरहेको चाम्लिङको भनाइ छ ।
‘इमानदार भएर भन्नुपर्छ, हाम्रो पुस्ताको परिचय नै इमानदारी हो । विगतका दल र दलका प्रतिनिधि इमानदार भएनन् भन्ने हिसाबले सडकमा आएका हौं । तर अहिले सरकार बनिसकेपछि हेर्दा अवस्था उत्साहजनक छैन,’ उहाँले भन्नु भयो ।यद्यपि तत्काल सरकारको विकल्प खोज्नुपर्ने निष्कर्षमा भने आफूहरू नपुगेको उहाँले स्पष्ट पार्नु भयो। यो सरकारको विकल्प खोज्नुपर्छ, सरकारले जेनजी आन्दोलनलगायत समाजका आवश्यकताहरू पूरा गर्न सकेन भनेर ठोकुवा गर्ने अवस्थामा हामी छैनौँ । तर सरकार जे गरिराखेको छ, त्यो पूरै हाम्रा आदर्शअनुसार भइरहेको छ भन्ने अवस्था पनि छैन,’ उहाँले भन्नु भयो।उहाँका अनुसार सरकारप्रति जेनजी पुस्ताको प्रतिक्रिया अहिले मिश्रित छ । सरकारलाई सुधार गर्दै अघि बढ्नुपर्ने उहाँको सुझाव छ । जेनजी आन्दोलनमा सहभागी भएका व्यक्तिमाथिका मुद्दा फिर्ता र रिहाइको विषय अहिले पनि आफूहरूको प्रमुख चासो रहेको चाम्लिङले बताउनु भयो । आन्दोलनपछि भएको सम्झौतामा सुनियोजित र संगठित अपराधमा संलग्न व्यक्तिबाहेक अन्यको हकमा अभियोग फिर्ता लिने तथा हिरासत वा कारागारमा रहेका व्यक्तिलाई रिहा गर्ने व्यवस्था गरिएको उहाँले स्मरण गर्नु भयो।
उहाँका अनुसार उक्त विषय कार्यान्वयनका लागि १५ दिनभित्र स्क्रिनिङ गर्ने भनिएको थियो । तत्कालीन कार्की आयोगले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने विषय भन्दै आगामी सरकारले सम्बोधन गर्नुपर्ने बताएपछि यसको जिम्मेवारी वर्तमान सरकारमा आएको उहाँको भनाइ छ ।‘बालेन सरकार आएपछि हामीले पटक–पटक खबरदारी गर्नुपर्यो। एउटा समिति बनेको भन्ने जानकारी छ । त्यसले कस–कसको अभियोग फिर्ता लिनुपर्ने हो भनेर स्क्रिनिङ गरिरहेको छ भन्ने जानकारी पाएका छौँ,’ उहाँले भन्नु भयो।आन्दोलनमा सहभागी भएकै कारण कारागारमा रहेका साथीहरूको रिहाइबारे जानकारी आए पनि काम अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उहाँले बताउनु भयो।
‘सडकमा गएका साथी शहादत प्राप्त गर्नुप¥यो, कैयौँ साथी संसद्मा हुनुहुन्छ, कोही क्याबिनेटमै हुनुहुन्छ । हामी कोही खुला रूपमा सरकारसँग आँखामा आँखा जुधाएर सवाल–जवाफ गरिरहेका छौँ। कोही चाहिँ कोठरीमा हुनुहुन्छ । यो न्याय भएन भन्ने विषयले हामीलाई दुखाइरहेको छ,’ चाम्लिङले भन्नु भयो। उहाँका अनुसार आन्दोलनमा सहभागी भएका कारण मात्रै कारागारमा रहेका निर्दोष व्यक्तिको विषयमा आफूहरूको विशेष ध्यान छ । जेनजी पुस्ताका सबै युवाका मुद्दा एउटै नभए पनि आन्दोलनका केही साझा आधारभूत मुद्दा रहेको चाम्लिङले बताउनु भयो ।
उहाँका अनुसार भ्रष्टाचारको अन्त्य, सुशासन, अभिव्यक्ति स्वतन्त्रता, पुराना राजनीतिक दलको सुधार तथा सरकार र राज्यका विभिन्न अंगको सुधार जेनजी आन्दोलनका प्रमुख साझा मुद्दा हुन् । मलाई जे–जे मेरो मुद्दा लाग्यो, त्यही सबै जेनजीको मुद्दा हो भनियो भने अन्याय हुन्छ । फरक–फरक जेनजी साथीका फरक–फरक मुद्दा हुन सक्छन्,’ उहाँले भन्नु भयो, ‘तर भ्रष्टाचार अन्त्य, सुशासन, अभिव्यक्ति स्वतन्त्रता, पुराना दलमा रिफर्म र राज्यका विभिन्न अंगको रिफर्म हाम्रा आधारभूत मुद्दा हुन् ।’वर्तमान सरकारसँग जेनजी पुस्ताको असन्तुष्टिमध्ये संविधान संशोधनको प्रक्रिया पनि एक रहेको चाम्लिङले बताउनु भयो। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको संयोजकमा प्रधानमन्त्रीका सल्लाहकारलाई जिम्मेवारी दिइएको विषयमा आफूहरूले प्रश्न उठाएको उहाँले बताउनु भयो ।
‘संविधान संशोधन जस्तो गम्भीर विषयको जिम्मा दिने क्रममा कुन विधिमा टेकेर, त्यसको उद्देश्य, विधि, प्रक्रिया, सीमा र नैतिकता के हो भन्ने कुरा स्पष्ट नपारी जिम्मा दिइएको विषय हाम्रो लागि दुःखको विषय भयो,’ उहाँले भन्नु भयो।संविधान संशोधनको विषयमा स्थानीय तहदेखि संघसम्म, सबै वर्ग, लिङ्ग, भाषा र क्षेत्रबाट सुझाव संकलन गरेपछि मात्र प्रक्रिया अघि बढाउनुपर्ने आफ्नो धारणा रहेको उहाँले बताउनु भयो ।उहाँका अनुसार त्यसअघि नै कार्यदल गठन गरेर संयोजक तोकिएको विषयले सरकार पारदर्शिताको सवालमा चुकेको देखाएको छ । निजी क्षेत्र र व्यवसायीलाई नियमन गर्नुपर्ने भए पनि राज्यले डर, धम्की वा त्रास सिर्जना गर्न नहुने चाम्लिङको धारणा छ ।
‘व्यवसायीहरूलाई नियमन गर्नुपर्छ। निजी क्षेत्रलाई नियमन पनि गर्नुपर्छ । तर उनीहरूलाई तर्साउने, डराउने, धम्क्याउने काम कुनै पनि मुलुकमा हुनुहुँदैन,’ उहाँले भन्नु भयो। निजी क्षेत्रको नियमन आवश्यक भए पनि त्यसका लागि स्थापित प्रक्रिया र प्रणालीलाई बेवास्ता गर्न नहुने उहाँले बताउनु भयो। आवेगमा गरिने परिवर्तनले कतिपय अवस्थामा प्रक्रिया मिचिन सक्ने उहाँको भनाइ छ ।‘निजी क्षेत्रलाई हतोत्साहित गरेर राज्य अघि बढ्न सक्दैन । यो कुरा राज्यले पनि बुझ्नुपर्छ,’ उहाँले भन्नु भयो।चाम्लिङले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका व्यक्तिका परिवार, घाइते, आन्दोलनपछि तत्कालीन सरकारसँग भएको सम्झौतामा भूमिका खेलेका र हस्ताक्षर गरेका प्रतिनिधिसहित समाजका विभिन्न पक्षसँग सरकारले निरन्तर संवाद गर्नुपर्ने बताउनु भयो । सरकारले दुरी राख्नु भएन । कम्युनिकेसनमा रहने, राय–सल्लाह लिने काममा सरकार हिचकिचाउनु हुँदैन,’ उहाँले भन्नु भयो।
जेनजीका मुद्दा मात्रै मुलुकका सम्पूर्ण मुद्दा नभएको भन्दै उहाँले राज्यले सबै समुदाय, वर्ग र क्षेत्रसँग संवाद गर्नुपर्ने बताउनु भयो। मुलुक जेनजीको मात्रै होइन । जेनजीले त्यतिबेला उठाएका मुद्दा मात्रै मुलुकका मुद्दा होइनन् । अरू पनि मुद्दाहरू छन् । सबै मुद्दालाई केन्द्रमा राखेर सबै क्षेत्र, समुदाय र वर्गसँग राज्यले निरन्तर राय–परामर्श लिनुपर्छ,’ उहाँले भन्नु भयो।उहाँले सरकार र नागरिकबीच संवादको दूरी बढ्दा त्यसले सुशासन र विकासमा समेत असर पार्ने बताउनु भयो । वर्तमान सरकारको कमजोरीमध्ये विभिन्न क्षेत्र, समुदाय र वर्गसँग दूरी बढ्नु तथा जेनजी आन्दोलनका प्रतिनिधिसँग समेत पर्याप्त संवाद हुन नसक्नु रहेको उहाँको बुझाइ छ । उहाँले सरकारलाई संवादको दायरा फराकिलो बनाउन आग्रह गर्नु भएको छ । अन्यथा पुराना राजनीतिक दल वा अनावश्यक मुद्दाले पुनः स्थान पाउने र मुलुकले अर्को आन्दोलनको सामना गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको चेतावनी छ ।
चाम्लिङले जेनजी आन्दोलनलाई एक वर्षको अवधिमा ‘परीक्षाको घडी’ बाट गुज्रिएको पुस्ताका रूपमा चित्रण गर्नु भएको छ । ‘यो परीक्षाको घडी थियो हाम्रो लागि । अझै पनि लगभग–लगभग परीक्षामै छौँ। कति साथी फेल हुनुभयो होला, कति साथी उत्तीर्ण हुनुभयो होला, केही साथी पुनःपरीक्षा दिइराखेको परिस्थितिमा छौँ,’ उहाँले भन्नु भयो।तर जेनजी पुस्ताले आफूलाई ‘पास’ गराउनुपर्ने र त्यसमा सरकारका निर्णय तथा गतिविधिको पनि महत्वपूर्ण भूमिका रहने उहाँको निष्कर्ष छ । जेनजी साथीहरूले आफूलाई पास गराउनुपर्छ । त्यसका लागि सरकारका निर्णयहरू पनि जिम्मेवार रहन्छन्, सरकारका गतिविधिहरू पनि जिम्मेवार रहन्छन्,’ उहाँले भन्नु भयो, ‘सरकारका गतिविधिले नै जेनजी आन्दोलन पास या फेल भन्ने निर्धारण गर्ला भन्ने मेरो बुझाइ हो ।’उहाँले सरकारले जेनजी पुस्तालाई असफल बनाउने दिशामा काम नगर्ने विश्वाससमेत व्यक्त गर्नु भयो ।









