काठमाडौँ,२३ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशको पछिल्लो बाढी–पहिरो संकट, उद्धार, राहत र सञ्चार क्षेत्रका समसामयिक विषयमा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । पार्टी सभापति गगन कुमार थापाको सभापतित्वमा ललितपुर स्थित बी.पी.स्मृति भवनमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।बैठकले विशेषगरी भदौ १० गतेको भोटकोशी–त्रिशूली बाढीबाट सिर्जित संकट र जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण गराएको छ ।
बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङका सडक सञ्जालमा ठूलो क्षति पुगेको भन्दै कांग्रेसले राहत तथा अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ ।विशेषगरी माथिल्लो त्रिशूली–१, रसुवागढी, लाङटाङ खोला, चिलिमे, माथिल्लो त्रिशूली–३ ‘ए’ र माथिल्लो त्रिशूली–३ ‘बी’ लगायत जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा इन्जिनियर, श्रमिक तथा अन्य नागरिक फसेको अवस्थाप्रति कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ । सुरुङभित्र फसेका नागरिकको यथाशीघ्र उद्धार गर्न सरकारले हरसम्भव प्रयास गर्नुपर्ने कांग्रेसको माग छ । घाइतेको सम्पूर्ण उपचार राज्यकोषबाट गर्ने व्यवस्था मिलाउनुपर्ने पनि उल्लेख गरेको छ ।
कांग्रेसले सुरुङ उद्धारलाई सामान्य विपद् प्रतिकार्यका रूपमा नभई बहुविषयगत प्राविधिक अभियानका रूपमा सञ्चालन गर्नुपर्ने बताएको छ । नेपाली सेना र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा स्पष्ट कमाण्ड प्रणाली बनाएर प्रत्येक प्रभावित सुरुङका लागि छुट्टाछुट्टै विशेषज्ञ उद्धार योजना बनाउनुपर्ने कांग्रेसले उल्लेख गरेको छ ।नेपालका अनुभवी प्राविधिक तथा जलविद्युत् क्षेत्रका विज्ञसँगै आवश्यकताअनुसार अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधिको समेत प्रयोग गर्नुपर्ने कांग्रेसले जनाएको छ । बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको एउटै आधिकारिक अभिलेख तयार गरी परिवारलाई नियमित र प्रमाणित सूचना उपलब्ध गराउन पनि माग गरिएको छ ।









