ताप्लेजुङ,२३ भदौ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा किसानले भट्टीमा अलैँची सुकाउँदै छन । कालो सुनका रूपमा परिचित अलैँची मंगलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रतिमन ४० किलो ८५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ ।ताप्लेजुङको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची यहाँका किसानको आम्दानीको महत्वपूर्ण स्रोत हो । जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बाहेक अधिकांश वडामा अलैँची खेती हुँदै आएको छ ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ । अलैँचीको उत्पादन र बजार मूल्यले किसानको आयआर्जनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । त्यसैले जिल्लाका अधिकांश किसान अलैँची खेतीमा आबद्ध छन।









