रतुवामाई, २४ भदौ ।रतुवामाई नगरपालिका–१० स्थित जेन्जि चौकमा गत वर्ष सुशासनको माग गर्दै सडकमा उत्रिएका जेन्जिहरू माथि भएको राज्य दमनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।सुशासन, जवाफदेहिता र जनअधिकारको मागसहित सडकमा उत्रिएका युवाहरूको आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै जेन्जि चौकमा दीप प्रज्वलन गरिएको हो।
कार्यक्रममा रतुवामाई–१० का पूर्व वडाध्यक्ष टंक ढकालले भनाइ राख्दै शहीदहरूले उठाएका सवाल र उनीहरूको योगदानलाई समाजले कहिल्यै बिर्सन नहुने बताउनुभयो। उहाँले सुशासन र जनताको अधिकारका लागि उठेको आवाजलाई सम्मान गर्दै आगामी पुस्ताले पनि त्यसबाट प्रेरणा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।कार्यक्रमको सञ्चालन जेन्जि युवा निशान सुवेदीले गर्नुभएको थियो। उहाँले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै शहीदहरूको योगदानलाई सम्झनु केवल श्रद्धाञ्जलीमा सीमित नभई उनीहरूले उठाएका मुद्दालाई समेत स्मरण गर्नु भएको बताउनुभयो।दीप प्रज्वलन कार्यक्रममा जेन्जि जुत्ता समेत प्रदर्शन गरिएको थियो। आन्दोलन र त्यससँग जोडिएको संघर्षको प्रतीकका रूपमा जुत्तालाई प्रदर्शन गरिएको आयोजकले जनाएको छ।
यसैबीच, सचेत युवा समूहका अध्यक्ष समिर सुवेदीले जेन्जि चौकमै उक्त जुत्ताको स्तम्भ निर्माण गरी संरक्षण गरेर राखिने बताउनुभएको छ। उहाँका अनुसार जुत्ता केवल एउटा वस्तु नभई गत वर्षको आन्दोलन, युवाहरूको आवाज र सहादत प्राप्त गरेका शहीदहरूको सम्झनासँग जोडिएको ऐतिहासिक प्रतीक भएकाले भावी पुस्ताले समेत त्यसबारे जानकारी पाउने गरी स्तम्भ निर्माण गरिनेछ।सुवेदीले भन्नुभयो, “यो जुत्ता एउटा सामान्य जुत्ता होइन, त्यो समयको संघर्ष र युवाहरूको आवाजको प्रतीक हो। त्यसैले जेन्जि चौकमै स्तम्भ बनाएर संरक्षण गर्ने हाम्रो योजना छ।”दीप प्रज्वलन कार्यक्रममार्फत सहभागीहरूले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुशासन, सामाजिक न्याय, जवाफदेहिता र जनअधिकारको पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।कार्यक्रमले जेन्जि चौकलाई आगामी दिनमा गत वर्षको आन्दोलन र शहीदहरूको स्मरण गराउने महत्वपूर्ण स्थलका रूपमा विकास गर्ने सन्देश दिएको छ।









