ब्रिक्स सम्मेलन

परम्परागत चिकित्सामा सहकार्य बढाउने निर्णय

काठमाडौं , २९ भदौ। भारतको नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले परम्परागत, पूरक तथा एकीकृत चिकित्सालाई सदस्य राष्ट्रबीचको स्वास्थ्य सहकार्यको महत्त्वपूर्ण एजेन्डाका रूपमा अघि बढाउने निर्णय गरेको छ ।नयाँदिल्ली घोषणापत्रमार्फत ब्रिक्स स्वास्थ्य ट्र्याकअन्तर्गत टीसीआईएम सम्बन्धी विज्ञ कार्यसमूह गठन गर्ने प्रस्तावलाई स्वागत गरिएको हो । भारतको आयुष मन्त्रालयका अनुसार प्रस्तावित कार्यसमूहले ब्रिक्स सदस्य राष्ट्रहरूबीच परम्परागत चिकित्सासम्बन्धी संवाद, अनुसन्धान, ज्ञान आदानप्रदान र नीतिगत सहकार्यका लागि संस्थागत संयन्त्रको रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

 

भारतका आयुष मन्त्री प्रतापराव जाधवले घोषणापत्रमा टीसीआईएमलाई समेटिनु परम्परागत चिकित्सामा विश्वव्यापी सहकार्यलाई बलियो बनाउने महत्त्वपूर्ण कदम भएको बताउनु भएको छ । उहाँका अनुसार प्रस्तावित कार्यसमूहले सदस्य राष्ट्रहरूलाई अनुसन्धान विस्तार, प्रमाणमा आधारित अभ्यास प्रर्वदन तथा अनुभव आदानप्रदान गर्ने साझा मञ्च प्रदान गर्नेछ ।उहाँले आयुर्वेदसहित अन्य आयुष प्रणालीलाई वैज्ञानिक अनुसन्धान, गुणस्तर सुनिश्चितता र अन्तर्राष्ट्रिय सहकार्यमार्फत सुरक्षित, प्रभावकारी र किफायती स्वास्थ्य सेवामा योगदान गर्ने दिशामा भारत प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो। आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले पनि कार्यसमूहले अनुसन्धान सहकार्य, प्रमाण संकलन, गुणस्तर मापदण्ड तथा नियामकीय अभ्यासमा केन्द्रित सहकार्यलाई संस्थागत रूप दिन सक्ने बताउनु भयो।

 

औषधीय वनस्पतिमा संयुक्त अनुसन्धान

घोषणापत्रले उपचारात्मक तथा रोग रोकथामका उद्देश्यले प्रयोग हुने औषधीय वनस्पति र जडीबुटीजन्य तयारीमा संयुक्त अनुसन्धान बढाउन विशेष जोड दिएको छ । ब्रिक्स राष्ट्रहरूको साझा परम्परागत औषधीय ज्ञान सुरक्षित, प्रभावकारी र किफायती उपचार सामग्री विकासका लागि आधार बन्न सक्ने दस्तावेजमा उल्लेख गरिएको छ ।यससँगै सदस्य राष्ट्रहरूको राष्ट्रिय सन्दर्भअनुसार गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्न प्रमाणमा आधारित नियामकीय व्यवस्था सुदृढ बनाउनुपर्ने आवश्यकता पनि घोषणापत्रले औंल्याएको छ ।

चण्डीगढ बैठकबाट बनेको आधार

यो पहल भारतको ब्रिक्स अध्यक्षताका क्रममा गत जुलाई २१ मा चण्डीगढमा आयोजित टीसीआईएम बैठकको निरन्तरता हो । उक्त बैठकमा सदस्य राष्ट्रका सरकारी अधिकारी, प्राविधिक विज्ञ र प्रतिनिधिहरूले अनुसन्धान, शिक्षा, ज्ञान आदानप्रदान तथा नियामकीय सहकार्यका विषयमा सहमति गरेका थिए । त्यही बैठकले प्रस्तावित विज्ञ कार्यसमूहको कार्यादेशमा पनि सहमति जुटाएको थियो ।

विश्व स्वास्थ्य संगठनको रणनीतिसँग मेल

यो निर्णय विश्व स्वास्थ्य संगठनको २०२५–२०३४ को विश्व परम्परागत चिकित्सा रणनीतिसँग पनि मेल खाने मानिएको छ । उक्त रणनीतिले परम्परागत चिकित्सामा वैज्ञानिक प्रमाणको आधार बलियो बनाउने, गुणस्तर र सुरक्षा सुनिश्चित गर्ने तथा स्वास्थ्य प्रणालीमा उपयुक्त रूपमा समावेश गर्ने लक्ष्य अघि सारेको छ ।आयुष मन्त्रालयका अनुसार नयाँदिल्ली घोषणापत्रले टीसीआईएमलाई ब्रिक्स स्वास्थ्य ट्र्याकसँग जोड्दै सार्वभौमिक स्वास्थ्य पहुँच अनुसन्धान, गुणस्तर, सुरक्षा र प्रभावकारितासँग सम्बन्धित दीर्घकालीन सहकार्यका लागि आधार तयार गरेको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चिलिमे टनेलमा रातभर उद्धार कार्य

रसुवा,२९ भदौ । रसुवाको चिलिमे टनेल क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धारका लागि रातभर काम जारी राखिएको छ ।   उद्धार टोलीले रातभरी पनि टनेल नजिक

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौं ,२९ भदौ। राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । आज ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवस मनाउँन लागेको हो

व्रतको आध्यात्मिक उद्देश्य पूरा गर्न नकरात्मक सोच र गतिविधि त्याग्नुपर्छ: मुकुन्द नेपाल

काठमाडौं,२९ भदौ । हिन्दू धर्मावलम्बी महिलाहरूले विशेष श्रद्धा र उत्साहका साथ मनाउने हरितालिका तीज धार्मिक आस्था, पारिवारिक सुख–शान्ति र सामाजिक संस्कृतिसँग जोडिएको पर्व हो ।

शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : शिक्षामन्त्री

काठमाडौं ,२९ भदौ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक

परम्परागत चिकित्सामा सहकार्य बढाउने निर्णय

काठमाडौं , २९ भदौ। भारतको नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले परम्परागत, पूरक तथा एकीकृत चिकित्सालाई सदस्य राष्ट्रबीचको स्वास्थ्य सहकार्यको महत्त्वपूर्ण एजेन्डाका रूपमा अघि बढाउने

मेचीनगरबाट साढे ६ लाख बढीको अवैध सामान बरामद

झापा, भदौ २९। झापाको मेचीनगरबाट सशस्त्र प्रहरी बल, नेपालले ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। मेचीनगर नगरपालिका–६ स्थित