काठमाडौं,२ असोज । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यले सामूहिक राजीनामा दिएका छन्।
उनीहरूले काठमाडौंको शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाउँदै आजैदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन्।
राजीनामा दिनेमा पार्टीका महासचिव केशवकुमार झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकजकुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन्।
उनीहरूले संयुक्त रूपमा बुझाएको राजीनामा पत्रमा आफूहरू आजैको मितिदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उल्लेख गरेका छन्।
राजीनामा पत्रमा पार्टी नेतृत्व तथा अध्यक्ष राजेन्द्र महतोको आगामी राजनीतिक यात्राको सुखद भविष्यको कामनासमेत गरिएको छ।









