काठमाडौं , ३ असोज। गुगलको एआई मोडल जेमिनाईले साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा इन्टरनेटमा पहुँच बनाएर तीनवटा वेबसाइटमा ह्याकिङ प्रयास गरेको पाइएको छ।स्वतन्त्र साइबर सुरक्षा मूल्याङ्कन कम्पनी ‘इर्रेगुलर’ले गरेको परीक्षणका क्रममा मे महिनामा जेमिनाईले अनलाइनमा सार्वजनिक जानकारी फेला पारेपछि परीक्षणको दायराभित्र परेको ठानेर तीन वेबसाइटमा पहुँच पाउन क्रिडेन्सियल अर्थात् लगइन विवरण अनुमान गरेको थियो।
गुगलकी सेक्युरिटी इन्जिनियरिङ उपाध्यक्ष हेदर एडकिन्सका अनुसार घटनाबारे सम्बन्धित तीनवटै निकायलाई जानकारी गराइएको छ। उनका अनुसार शक्तिशाली एआई मोडललाई जिम्मेवार ढंगले काम गर्न तालिम दिनुपर्ने आवश्यकता घटनाले देखाएको छ।इर्रेगुलरका अनुसार यस्ता समस्या अन्य एआई ल्याबमा पनि देखिएका छन् र सम्बन्धित पक्षलाई जानकारी गराइसकिएको छ।एआई एजेन्टले उच्च स्वायत्तताका साथ इन्टरनेट तथा कम्प्युटर प्रणालीमा पहुँच पाउन थालेपछि साइबर सुरक्षासम्बन्धी जोखिमबारे थप प्रश्न उठेका छन्। जेमिनाईले परीक्षणका क्रममा तीनवटै अवस्थामा अन्ततः आफ्नो ह्याकिङ प्रयास रोकेको बताइएको छ।









