दमक ,४ असोज | जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादी झापामा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंमा कैद भुक्तान गरिरहेका ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–२ का २७ वर्षीय राजकुमार लिम्बू पक्राउ परेका हुन्।
जबरजस्ती करणी मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०७९ साल माघ २२ गते लिम्बूलाई १८ वर्ष कैद, पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा २ हजार २ सय रुपैयाँ जम्मा गर्नुपर्ने फैसला गरेको थियो।
लिम्बू जेनजी आन्दोलनका क्रममा २०८२ साल भदौ २४ गते कारागारबाट भागेर फरार भएका थिए।
फरार रहेका लिम्बू दमक नगरपालिका–६ स्थित एक स्थानमा लुकिछिपी बसिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी निरीक्षक प्रमोद खड्काको टोलीले गएराती ११ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका लिम्बूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ।









