दमक, ४ असोज । नेपाली कांग्रेस दमकको सभापतिमा सागर खनालले उम्मेदवारी दिने तयारी गर्नुभएको छ। आगामी निर्वाचनमा पार्टीलाई परिणाममुखी बनाउने योजनासहित आफू सभापतिको दौडमा अघि सरेको खनालले बताउनुभएको छ।
पार्टीको १३औँ अधिवेशनबाट नगर सदस्यमा निर्वाचित हुनुभएका खनालले त्यसबेला सचिवको भूमिकासमेत निर्वाह गर्नुभएको थियो। १४औँ अधिवेशनमा उपसभापतिमा विजयी हुनुभएका उहाँले आसन्न अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो।
खनालले आफ्नो उम्मेदवारीलाई संगठन विस्तार र आगामी निर्वाचनको तयारीसँग जोड्नुभएको छ। कांग्रेसलाई समाजसँग थप जोड्दै पार्टीका गतिविधिलाई परिणाममुखी बनाउन आफूले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको उहाँको भनाइ छ।
उहाँका अनुसार दमकका विभिन्न सामाजिक संघसंस्थामा कांग्रेस निकट व्यक्तिहरू निर्वाचित हुनु र स्थानीय तहमा पनि पार्टीको अवस्था सुधार हुँदै जानु संगठनले हासिल गरेका उपलब्धि हुन्। अब यही आधारमा आगामी निर्वाचनमा थप परिणाम निकाल्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने उहाँको धारणा छ।
उज्यालो खबरसँग कुरा गर्दै खनालले भन्नुभयो, “हाम्रै रणनीतिमा दमकका विभिन्न सामाजिक संघसंस्थामा हाम्रा पार्टीका व्यक्तिहरू निर्वाचित हुनुभएको छ। पालिकामा पनि पहिलेभन्दा अहिले सुधार भइरहेको छ। आगामी निर्वाचनलाई समेत परिणाममुखी बनाउने उद्देश्यले मैले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको हुँ।”
युवा पुस्तालाई नेतृत्वमा स्थापित गर्दै पार्टीलाई नयाँ सोच र ऊर्जाका साथ अघि बढाउनुपर्ने आवश्यकता रहेको खनालको भनाइ छ। देश परिवर्तन र रूपान्तरणको चरणमा रहेकाले कांग्रेसको स्थानीय संगठनलाई पनि नयाँ सिराबाट अघि बढाउन आफूले नेतृत्वका लागि दाबी गरेको उहाँले बताउनुभयो।
सभापतिमा निर्वाचित भए संगठनलाई थप सक्रिय बनाउने, सामाजिक क्षेत्रमा पार्टीको उपस्थितिलाई प्रभावकारी बनाउने र आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर पार्टीको तयारी अघि बढाउने खनालको योजना छ।
नगर अधिवेशन आगामी असोज ७ गतेकालागी तोकीएको छ ।









