पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ ।
कांग्रेसको १५ औं महाधिवेशनको सन्दर्भमा असोज ७ मा हुने पथरी शनिश्चरेको नगर अधिवशेनमा वडा नम्बर १ पथरी बजार निवासी भट्टराईले सहमति र सहाकार्य अघि बढाउन अनुरोध गर्दै क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुमा आफूलाई जिताउन अपिल गर्नुभएको छ ।

‘नेपाली कांग्रेस जनताको माझमा, नगरको जिम्मेबारी युवाको काँधमा’ भन्ने नारा तय गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले नगरका अगुवा तथा युवाहरुसँग भेटघाट तथा छलफल अघि बढाउनु भएको छ । ‘म कुनै गुटको उम्मेदवार होइन, कांग्रेस गुटरहित कांग्रेस बनोस्, मजबुत बनोस् भन्ने हिसाबले युवाहरुको सक्रिय सहभागिताको प्रतिकका रुपमा साझा उम्मेदवार बनेको हुँ ।’ उहाँले भन्नुभयो ।
नगरभित्रका सामाजिक कार्यमा सक्रिय उहाँ पथरी बजार क्षेत्रमा एशियन हाइवेलाई ६ लेनको निर्माण गर्न स्थानीयवासीको संघर्ष समिति सचिवका रुपमा पहलकदमी अघि बढाउन भूमिका निर्वाह गर्नुभयो । उहाँले नगरमा बढ्दो लागुऔषध दुर्व्यसन विरुद्धको अभियानका एक अभियन्ताका रुपमा आफूलाई उभ्याउँदै युवाहरुमाझ आफूलाई स्थापित गर्नुभएको छ ।









