न्युयोर्क । एनभिडियाका मुख्य कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले आगामी दशकभित्रै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानव जातिको अस्तित्व समाप्त पार्न सक्ने चेतावनीलाई भ्रामक र काल्पनिक कथाको संज्ञा दिएका छन्।
सन् २०३० मा संसारको अन्त्य नहुने र त्यसो हुने सम्भावना शून्य प्रतिशत रहेको उनले बताएका छन्। मानिसलाई डराउनु अनावश्यक र गैरजिम्मेवारपूर्ण कार्य भएको उनको भनाइ छ।
हालैका हप्ताहरूमा शोधकर्ताहरूले एआईका सम्भावित जोखिमबारे चेतावनी दिएपछि यसको सुरक्षालाई लिएर तीव्र बहस सुरु भएको छ। पूर्व एन्थ्रोपिक शोधकर्ता ज्याकब कक्सनले सामाजिक सञ्जालमा एआई विकासकर्ताहरूले नै यो प्रविधिले दशकको अन्त्यसम्ममा सबैको ज्यान लिन सक्ने विश्वास गरिरहेको दाबी गरेका थिए। यस दाबीपछि एन्थ्रोपिकका प्रमुख डारियो अमोदेई र ओपनएआईका साम अल्टम्यानजस्ता प्रविधि क्षेत्रका शीर्ष प्रमुखहरूले एआईको विकास गति सुस्त बनाउनुपर्ने माग गरेका छन्।यस्ता भविष्यवाणीहरू विज्ञानमा आधारित नरहेको ह्वाङले दाबी गरेका छन्। प्रविधिलाई जिम्मेवार ढङ्गले निर्माण गर्नु नै एनभिडियाको हितमा हुने उनले बताए। ‘हाम्रो कम्पनीको सफलता उत्पादन र सेवाको सुरक्षित प्रयोगसँग प्रत्यक्ष जोडिएको छ,’ ह्वाङले भने, ‘यदि हामीले त्यसो गर्न सकेनौँ भने हाम्रो मूल्य घट्नेछ।’
एआईको गति धीमा बनाउन माग गर्ने कम्पनीहरू आफ्ना उत्पादनले पुर्याउन सक्ने क्षति र कानुनी दायित्वबाट उम्किन खोजिरहेको हुनसक्ने सङ्केत उनले गरे। उनीहरूले नयाँ कानुन नभई हाल भएका कानुनी नियमबाट मुक्ति खोजिरहेको र त्यो नै वास्तविक समस्या भएको उनको तर्क छ।
एआई मोडलहरू निर्माणका लागि आवश्यक पर्ने अत्याधुनिक कम्प्युटर चिप्स उत्पादनमा एनभिडिया अग्रणी मानिन्छ। वासिङ्टन र बेइजिङबिचको नीतिका कारण कम्पनीका शक्तिशाली चिप्स चीन निर्यातमा प्रतिबन्धको सामना गरिरहेका छन्। अमेरिकाले चीनको सैन्य र एआई प्रगतिको गति रोक्न निर्यातमा कडाइ गरेको छ भने चीनले स्वदेशी प्रविधिमै निर्भर हुन प्रोत्साहन गरिरहेको छ।
यसैबिच एआई, भन्सार महसुल र महत्त्वपूर्ण खनिजका विषयमा सम्झौता गर्न अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङबिच न्युयोर्कमा वार्ता भएको छ। दुवै पक्षबिच एआई सुरक्षासम्बन्धी नयाँ सूचना संयन्त्र स्थापना गर्ने विषयमा छलफल भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच वासिङ्टनमा हुने शिखर वार्ताको पूर्वसन्ध्यामा यो छलफल भएको हो।
गत हप्ता बेलायतका राजा चार्ल्सले आयोजना गरेको एक कार्यक्रममा पनि ह्वाङ सहभागी भएका थिए। सो क्रममा राजा चार्ल्सले प्रविधि क्षेत्रका नेताहरूलाई एआईको अस्तित्वगत खतराप्रति सचेत गराएका थिए। प्रविधिलाई अघि बढाउनु मात्र नभई यसलाई मानव जाति, समुदाय र प्राकृतिक संसारको सेवामा समर्पित राख्नु मुख्य चुनौती रहेको राजा चार्ल्सले बताएका थिए।
अर्कातर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने एआईको जोखिमसम्बन्धी चिन्तालाई खासै महत्त्व दिएका छैनन्। सेप्टेम्बर १४ मा लस एन्जलसमा आयोजित एक प्रविधि सम्मेलनमा ह्वाङले सम्बोधन गरिरहेका बेला ट्रम्पले फोन गरेर एआईको विकास रोक्ने मागको आलोचना गर्दै यस्ता डरहरूलाई भ्रामक बताएका थिए।









