दमक, ५ भदौ । नेपाली कांग्रेस दमकको अधिवेशन असोज ७ गते हुँदैछ। अधिवेशन नजिकिएसँगै सभापति पदका आकांक्षीहरू सक्रिय भएका छन्। हालसम्म तीन जना सभापति पदका दाबेदार देखिएका छन्। त्यसमध्ये एक हुनुहुन्छ प्रेम भट्टराई।
हाल कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहनु भएका भट्टराईले अब कार्यकारी सभापतिको भूमिकामा रहेर पार्टी संगठनलाई थप व्यवस्थित र गतिशील बनाउने योजना अघि सार्नु भएको छ ।
‘गत प्रतिनिधिसभाको चुनावमा पार्टी सभापति प्रकाश प्रसाईँले पार्टी परित्याग गर्दै अर्को पार्टी प्रवेश गर्नुभयो। त्यो अत्यन्तै संकट र अप्ठ्यारो अवस्था थियो। अप्ठ्यारो अवस्थामा अभिभावकविहीन भएको पार्टीलाई मैले सम्हालेको हुँ। अब म यसलाई कार्यकारी भूमिकामा अधुरो काम पूरा गराउने योजनामा छु,’ भट्टराईले उज्यालो खबरसँगको कुराकानीमा बताउनु भयो।
जेनजी आन्दोलनपछि पार्टी शिथिल बनेको र आफू कार्यवाहक सभापति भएपछि संगठनलाई केही हदसम्म सक्रिय बनाएको उहाँको दाबी छ।
‘अब पार्टीका हरेक संगठनलाई जागरुक गराउँदै दौडाउने बेला भएको छ। त्यो दौडाउन दमक कांग्रेसमा मेरो नेतृत्व आवश्यक छ,’ उहाँले बताउनु भयो।
आगामी निर्वाचनलाई लक्षित गर्दै दमकका १० वटै वडामा कांग्रेसलाई बलियो बनाउने आफ्नो प्राथमिकता रहेको भट्टराईले बताउनु भयो। वडा नम्बर ४, ६, ७ र १० मा कांग्रेस एक्लै चुनावमा गए जित्न सक्ने उहाँको दाबी छ।
‘अन्य वडामा पनि हामीले नेतृत्वले अलि मेहनत गर्ने र जनताका कुरा सुन्ने हो भने कांग्रेसको सम्भावना सबै वडामा छ,’ उहाँले बताउनु भयो।
पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र जनतासँगको सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेर आफू अघि बढ्ने भट्टराईको भनाइ छ।
प्रेम भट्टराईसँगको विस्तृत कुराकानीको भिडियो तलको लिंकमा राखिएको छ।









