काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले जेनजी आन्दोलनमा आफ्नो छोरासहितका युवाको बलिदान खेर जान नदिन र सरकारलाई खबरदारी गर्न आफू संसद्मा आएको उहाँले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘आज यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर वा पदको लालच थिएन । यो मेरो न्याय खोज्ने यात्रा हो । मेरो कोखमा नौ महिना हुर्किएर, ताते–ताते गर्दै मेरा आँखा सामुन्ने बढेको मेरो मुटुको टुक्रा यतिबेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रातो रगतले न्याय खोज्दै थियो । एउटा विश्वास र पवित्र यात्रा हो ।’
उहाँले जेनजी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाए आफूले सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि हिचकिचाहट नगर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘आज पनि कसैले मेरो छोरो जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु ।’
सांसद खत्रीले आफूलाई ‘छोराको लाससँग सांसद पद साटेको’ भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाउनु भयो । उहाँले आफ्नो व्यक्तिगत पीडामाथि राजनीतिक आक्रमण नगर्न आग्रह गर्नुभयो ।
आफ्नो छोरा शहीद भए पनि अब अन्य आमाका छोराहरूले त्यस्तो अवस्था भोग्न नपरोस् भन्ने उद्देश्यले सरकारलाई खबरदारी गर्न संसद्मा आएको उहाँले बतायनु भयो ।
सरकारसँग आफ्ना थुप्रै प्रश्न र असहमति रहेको भए पनि आफू जिम्मेवार भएर बोलिरहेको उहाँले बताउनु भयो।
शहीदकी आमाको अपमान हुँदा सरकार मौन बस्न नहुने भन्दै उहाँले शहीद तथा घाइतेका परिवारको अवस्था सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।









