काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ।
मन्त्रीद्वयले असोज ८, ९ र १० गते हुनसक्ने भारी वर्षा तथा त्यसबाट पर्न सक्ने सम्भावित प्रभावबारे सम्बन्धित अधिकारीसँग जानकारी लिनुभएको हो।
उहाँहरूले मौसमको पछिल्लो अवस्था, वर्षाको पूर्वानुमान र सम्भावित जोखिमबारे जानकारी लिनुका साथै विपद्को सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी र समन्वयका विषयमा समेत छलफल गर्नुभएको छ।
मन्त्रीद्वयले मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गर्दै सम्भावित जोखिमका क्षेत्रमा समयमै आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।
साथै, नागरिकलाई आधिकारिक मौसम पूर्वानुमान तथा सूचनाका आधारमा आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।









