काठमाडौं | ६ असोज | नेकपा एमालेका केन्द्रीय सदस्य ईन्द्र प्रसाद भण्डारीले पार्टी पुनर्गठन तथा निर्वाचन समिक्षाको नाममा कार्यकर्तालाई विभाजित गर्ने काम पार्टी नेताहरुबाटै भएको बताएका छन् ।
पार्टीको जारी केन्द्रीय समितीको बैठकमा आफ्ना धारणा राख्दै भण्डारीले भूगोलमा रहेका सबै कमिटीहरुले निर्वाचनको समिक्षा प्रतिवेदन प्राप्त भइसकेको अवश्थामा तिनै प्रतिवेदनका आधारमा केन्द्रीय कमिटी एउटा निष्कर्षमा पुग्नु पर्ने बताएका छन् । ‘एउटै काम दोहोर्याउँदै,कार्यदलका नाममा नेताहरु तल तल पुगेर सुझाव संकलन गर्ने कुरा नै सरासर गलत थियो ’ भण्डारीले बैठकमा भनेका छन् ‘अर्कोतिर पुनर्गठन भनेको मुल नेतृत्व फेर्न भने भाष्य मिडियाबाट बनाएर कार्यकर्तालाई पक्ष र विपक्षमा विभाजित गरियो ।’
भण्डारीले अध्यक्षले बैठकमा प्रष्तुत गरेको प्रतिवेदनको समर्थन गर्दै यसले राष्ट्रिय र अन्तराष्ट्रिय पमा एमाले विरुद्धको चलखेल प्रष्ट पारेको बताए । उनले यो पुनर्गठन अभियानले भूगोलमा पार्टी अझ कमजोर बनेको बताए ।
‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’ भण्डारीले भने ‘यो क्षतीको जिम्मा पार्टी सचिवालयले लिने कि कार्यदलले ?’
पार्टी केन्द्रीय सचिवालयका नेताहरु बैठकमा एउटा निर्णय गर्ने,मिडियामा अर्को कुरा बोल्ने प्रवृतिले पार्टी भित्र अनेक प्रश्न उब्जाएको भण्डारीको भनाइ छ । ‘पार्टी सचिवालयको निर्णय भनेर एक खालको अन्तरपार्टी निर्देशन पठाइन्छ’ भण्डारीले भने ‘सचिवालयको जिम्मेवार नेता मिडियामा गएर त्यही अपानिका विरुद्ध विरोधीलाई बल पुग्ने गरी अभिव्यक्ति दिने प्रवृतिले पार्टी र कार्यकर्तालाई विचलित बनाउछ । यो क्रम आजैबाट रोक्न म नेताहरुसँग आग्रह गर्दछु ।’









