दमक । ७ असोज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा–५ का उपसभापति चिरन न्यौपानेले आगामी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिने आकांक्षा सार्वजनिक गरेका छन्।
दमक–७ का स्थायी बासिन्दा न्यौपानेले सामाजिक सञ्जालमार्फत आफू वडा अध्यक्ष बनेमा वडाको विकासका लागि काम गर्ने भन्दै १५ बुँदे योजना सार्वजनिक गरेका हुन्। यसअघि नेकपा एमालेमा राजनीति गरेका न्यौपाने अहिले रास्वपामा सक्रिय छन्। न्यौपानेले दमक–७ लाई इतिहास, सम्भावना, व्यवस्थित पूर्वाधार, आर्थिक गतिविधि र सुरक्षित सामाजिक जीवन भएको ‘नमुना वडा’ बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्। उनले दमकको इतिहास, संस्कृति, पुराना बस्ती, महत्वपूर्ण स्थल तथा अग्रजहरूको योगदान अभिलेखीकरण गर्ने योजना अघि सारेका छन्। त्यस्तै, वडा क्षेत्रमा रहेको पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने तथा हाटखोलालाई स्थानीय व्यापार र आर्थिक गतिविधिको व्यवस्थित केन्द्र बनाउने बताएका छन्। रतुवा नदीलाई समस्या मात्र नभई प्राकृतिक सम्पदाका रूपमा विकास गर्ने उनको योजना छ। रतुवा किनारको सरसफाइ, संरक्षण तथा सम्भावित हरित करिडोर र पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकता दिने उनले बताएका छन्।
नमुना बस्तीलाई सडक, नाला, खानेपानी, सडकबत्ती, फुटपाथ, खुला क्षेत्र, हरियाली तथा विपद् व्यवस्थापनसहित व्यवस्थित आवासीय क्षेत्रमा विकास गर्ने उनको प्रस्ताव छ। वर्षातमा हुने डुबान र आवागमनको समस्या समाधानका लागि सडक तथा नाला व्यवस्थापनलाई प्राथमिकतामा राख्ने न्यौपानेले बताएका छन्।
उनले रेडक्रस, किरात भवन, पशुहाटलगायत क्षेत्रमा देखिँदै आएको डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न पहल गर्ने उल्लेख गरेका छन्।
यो वडामा बिगतदेखीनै राप्रपाबाट भिम पौडेलले जीत निकाल्दै आउनुभएको छ ।









