पथरी, ७ असोज / मानिसहरुलाई सृजनशील बनाउने माध्यमका रुपमा रहेको साहित्य र कलाको थप प्रवद्र्धन गर्न विद्यालयका विद्यार्थीहरुमा त्यस सम्बन्धि प्रशिक्षणात्मक सिकाईका लागि मोरङको पथरी शनिश्चरेमा अभियान अघि बढाइने भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको उपसमितिका रुपमा रहेको ‘कला साहित्य प्रवद्र्धन समिति’ले नगरका सामुदायिक र संस्थागतगरि सबै विद्यालयका विद्यार्थीका लागि ‘विद्यार्थीसँग साहित्य’ कार्यक्रम तय गरेको छ । विशेषगरी सृजनाको जग साहित्य भएकाले विद्यार्थीको समग्र सिकाईमा थप उर्जा प्रदान गरेर सृजनशील बन्ने प्रेरणामा कम्तिमा ३ महिने अवधिको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने निर्णय भएको समिति अध्यक्ष धनराज राई (अमीर)ले जनाउनु भयो ।
साहित्य सिक्न इच्छुक विद्यार्थीहरुको संख्या असोज २३ गतेभित्रमा विद्यालयहरुले समितिमा पठाइसक्नेगरिको पत्राचार गरिएको छ । विद्यालयमा हुने साप्ताहिक रुपको अतिरिक्त क्रियाकलापसँग जोडेर साहित्य सम्बन्धि प्रशिक्षात्मक कार्यक्रम तय गरिएको ‘विद्यार्थीसँग साहित्य’ कार्यक्रम व्यवस्थापन तथा सञ्चालन समिति संयोजक गणेश बाछाना राईले जनाउनु भयो । ‘मानिसहरु पैसामा मात्र केन्द्रित बन्न थालेको परिवेशमा साहित्य र कलाको क्षेत्रमा नयाँ पुस्तालाई प्रोत्साहित गर्र्दै सृजनशील समाज निर्माणको उद्धेश्य राखेर कार्यक्रम तय गरिएको छ ।’– उहाँले प्रष्ट्याउनु भयो ।
साहित्य सिक्न इच्छुक विद्यार्थीको संख्या यकिन भएपछि संख्याका आधारमा विभिन्न स्थानमा एकत्रित गरेर दशैं सकिएपछि प्रशिक्षण अघि बढाइने छ । कार्यक्रम व्यवस्थापन र सञ्चालनका लागि समिति सल्लाहकार राईको संयोजकत्वमा अर्का सल्लाहकार भूपेन्द्रराज तिम्सिना र समिति सचिव लक्ष्मीप्रसाद फुयाल सदस्य रहेको उपसमिति गठन गरिएको छ ।
समिति सल्लाहकार तिम्सिनाको संयोजकत्वमा सर्जकहरु रोहित पराई र सुमन राई सदस्य रहेको साहित्यिक पाठ्यक्रम निर्माण समितिमार्फत पाठ्यक्रम तय गरेको छ । समितिले विषयमा पोख्त सर्जकहरुबाट प्रशिक्षण गराउनेछ । कविता, रुबाइ, गजलबाट लेखनको अभ्यास थालिने छ ।
नगरपालिका कार्यालयले समितिलाई साहित्य र कलाका गतिविधिमा वर्षेनी रकम विनियोजन गर्दै आएको छ । पथरी शनिश्चरे साहित्य र कलाका गतिविधिमा सक्रिय नगर हो ।









