काठमाडौं , असोज ९। नेपाल फार्मेसी संघका केन्द्रीय कार्यसमिति अध्यक्ष युवराज भुसालले नेपालमा गुणस्तरीय फार्मेसी सेवा तथा औषधि उत्पादनलाई प्रभावकारी बनाउन विद्यमान ऐन, कानुन तथा नीतिनियममा आवश्यक सुधार गर्नुपर्ने बताउनुभएको छ ।विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी संघले संघीय सांसदहरूसँग आयोजना गरेको नीतिगत छलफल कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भुसालले स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुकूल बनाउन नीतिगत तथा कानुनी सुधार आवश्यक रहेको बताउनुभयो ।उहाले भन्नुभयो, ‘नेपालमा गुणस्तरीय फार्मेसी सेवा र औषधि उत्पादनलाई प्रभावकारी बनाउन विद्यमान ऐन, कानुन तथा नीतिनियममा आवश्यक सुधार गर्न जरुरी छ। स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुकूल बनाउन नीतिगत र कानुनी सुधारसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा पनि ध्यान दिनुपर्छ ।’ उहाले कम्युनिटी फार्मेसी, अस्पताल फार्मेसी, औषधि उद्योग तथा शैक्षिक क्षेत्रलगायत विभिन्न क्षेत्रमा फार्मासिस्टको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । नागरिकलाई गुणस्तरीय फार्मेसी सेवा उपलब्ध गराउन गुणस्तरीय शिक्षा र सेवासँगै फार्मेसी क्षेत्रलाई अघि बढाउनुपर्ने उहाको भनाइ थियो ।
अध्यक्ष भुसालले विद्यमान ऐन, कानुन तथा नीतिनियममा रहेका समस्या पहिचान गरी तिनको समाधानका लागि सांसदहरूसँग नीतिगत छलफल गरिएको बताउनुभयो । कतिपय विद्यमान कानुन कार्यान्वयनमा समस्या रहेको र आगामी दिनमा बन्ने ऐन तथा कानुनमा समेत फार्मेसी क्षेत्रका वास्तविक समस्या सम्बोधन गर्न आवश्यक रहेको उहाले बताउनुभयो । ‘नागरिक र देशसँग प्रत्यक्ष जोडिएका समस्यालाई सम्बोधन गरेर गुणस्तरीय शिक्षा, गुणस्तरीय औषधि र गुणस्तरीय फार्मेसी सेवाका लागि कानुनी, सैद्धान्तिक र वैज्ञानिक आधार तयार गर्न आवश्यक छ,’ भुसालले भन्नुभयो ।नेपालमा हाल ५० प्रतिशतभन्दा बढी औषधि स्वदेशी उद्योगले उत्पादन गरिरहेको उल्लेख गर्दै उनले नेपाली औषधि उद्योगले आयात प्रतिस्थापनसँगै रोजगारी सिर्जनामा समेत योगदान गरिरहेको बताउनुभयो । नेपालका औषधि उद्योगले गुणस्तरीय औषधि उत्पादन गरिरहेको भन्दै उनले स्वदेशी उद्योगलाई थप प्रोत्साहन गर्न सरकारसँग आग्रह गर्नुभयो ।पछिल्लो समय नेपालमा विशेष प्रकारका औषधिको उत्पादनसमेत सुरु हुन थालेको भन्दै भुसालले आन्तरिक बजारमा आवश्यक पर्ने थप औषधि स्वदेशमै उत्पादन गर्न सहज वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।









