काठमाडौं , असोज १२। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशु बधशाला तथा मासु जाँचसम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।कृषि मन्त्रालयमा स्थानीय तहका प्रमुखहरूसँग पशु बधशालासम्बन्धी ऐन कार्यान्वयनका विषयमा भएको छलफलमा मन्त्री चौधरीले कानुनमा रहेका रिक्तता पहिचान गर्नुका साथै विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । उहाले कृषि मन्त्रालयको काम प्रत्यक्ष रूपमा उपभोक्तासँग जोडिने भएकाले उपभोक्ताले स्वस्थकर मासु उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकार अघि बढिरहेको बताउनुभयो ।‘कति कानुनमा हामीले ग्याप देखेका छौं । कति कानुन भएर पनि कार्यान्वयन नहुँदा जनताले दुःख पाइरहेको अवस्था छ,’ उहाले भन्नुभयो , ‘कानुन लागू नभएको र कार्यान्वयन नभएको कारणले उपभोक्ताले अस्वस्थकर मासु खानुपर्ने बाध्यता छ, हटाउनुपर्छ ।’
मन्त्री चौधरीका अनुसार पशु बधशाला तथा मासु जाँचसम्बन्धी ऐन २०५५ मा जारी भएको थियो । उक्त व्यवस्था हेटौंडामा २०६० सालमा, सुर्खेतमा २०८० सालमा र बुटवलमा २०८१ सालमा केही पशु बधशालामा लागू गरिएको थियो । तर, हालसम्म देशभर पूर्णरूपमा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।उहाले पशु बधशाला सञ्चालनलाई देशभर विस्तार गर्नुपर्नेमा जोड दिँदै यसबाट जनस्वास्थ्य संरक्षणसँगै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।‘देशभर यो व्यवस्था लागू गर्न आवश्यक छ । जनस्वास्थ्यको संरक्षण र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन पशु बधशाला महत्वपूर्ण छ,’ उहाले भन्नुभयो ।










